नारायण सुवेदीद्धारा एनआरएनए जापान उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

३ साउन, काठमाडौं । जापान निवासी नेपाली समाजसेवी नारायण सुवेदीले एनआरएनए जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै सुवेदीको चर्चा चुलिएको छ ।

जापानको क्यूसु क्षेत्र अन्तर्गत फूकुओकामा सन् २०१३ देखि बस्दै आउनु भएका सुवेदी जापानमा स्थायी रूपमा कर्मक्षेत्र बनाएर सामाजिक तथा खेलकुद गतिविधिमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ ।

विद्यार्थीको रुपमा जापान पुगेका सुवेदी जापानस्थित नेपाली समुदायमा एक जिम्मेवार, सहयोगी र लोकप्रिय व्यक्तित्वको रूपमा चिनिनुहुन्छ । प्रारम्भिक दिनदेखि नै सामाजिक काममा समर्पित रहँदै आउनुभएका उहाँले अध्ययनसँगै विभिन्न सामाजिक संघसंस्थाहरूमा आबद्ध भएर काम गर्दै आउनुभएको छ । उहाँको नेतृत्वमा सञ्चालित विविध गतिविधिहरूले नेपाली समुदायमा उल्लेखनीय सकारात्मक प्रभाव पारेका छन् ।

खासगरी खेलकुद क्षेत्रमा सुवेदीको योगदान उल्लेखनीय छ। खुकुरी एफसीमार्फत विभिन्न खेल प्रतियोगिता आयोजना गर्नुका साथै नेपाली खेलाडीलाई अन्तरसम्पर्क र प्रतिभा प्रदर्शनका अवसरहरू दिलाउँदै आउनुभएको छ । जापानमा रहेका नवआगन्तुक नेपाली विद्यार्थी तथा कामदारलाई प्रारम्भिक समयमै मार्गदर्शन, रोजगारी र बसोबासमा सहजता दिलाउने कार्यमा पनि सुवेदी अग्रपंक्तिमा रहँदै आउनुभएको छ।

नेपालका गाउँ–सहरमा आयोजना हुने साना–ठूला खेल प्रतियोगिता तथा सामाजिक सहायतामा समेत निरन्तर योगदान दिँदै आउनु भएको छ। विशेषगरी उपचार खर्च नपाएर समस्यामा परेका नेपालीहरूलाई आर्थिक सहयोग संकलन गरेर उपचारमा साथ दिनु उहाँको मानवीय संवेदनशीलताको उदाहरण हो ।

एनआरएनए क्यूसु क्षेत्रीय कार्यसमितिको सदस्य, कोषाध्यक्ष, मानार्थ सदस्य तथा राष्ट्रिय परिषद सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसक्नुभएका सुवेदी नेतृत्वदायी क्षमताले पनि परिचित हुनुहुन्छ। “नाराको होइन, साहाराको एनआरएनए” भन्ने एजेन्डालाई अघि सार्दै उहाँले सबै नेपालीको संस्था बन्ने एनआरएनए निर्माण गर्ने लक्ष्य लिएको बताउनुहुन्छ । जापानस्थित नेपालीहरूको जीवन अझ व्यवस्थित, सुरक्षित र सम्मानजनक होस् भन्ने उद्देश्यका साथ उहाँले आफूलाई उपाध्यक्ष पदमा विजय गराउन आग्रह गर्नुभएको छ ।

सामाजिक क्षेत्रका साथसाथै नेतृत्व क्षमता, जिम्मेवारी बोध र सेवाभावको कारण नारायण सुवेदी हाल जापानमा बसोबास गर्ने नेपालीहरूको आशाको केन्द्रका रूपमा उभिनु भएको छ ।

सम्बन्धित खवर