जेठ ६ गते, काठ्माडौँ । रवि लामिछानेद्धारा प्रसार–प्रसार गरिएको जनमैत्री अस्पतालले कोभिड संक्रमितले एकै दिनको एउटा क्याबिनको सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएको छ । महंगो शुल्क लिने अन्य अस्पतालको सर्वत्र टीकाटिप्पणी भइरहेको बेलामा रवि आफैले समाजसेवा गर्ने भन्दै खोलिएको अस्पतालले ठगी गरेको हो । विकृति र विसंगतिविरुद्ध आवाज उठाउँदै आएको सो समूहले नै समाजसेवाको आडमा ठगी धन्दा गरिरहेको भन्दै बिरामीका आफन्तले आलोचना गरेका छन् ।
बालाजु चोकस्थित जनमैत्री अस्पताल लामो समययता बन्द रहेको थियो । केही साताअघि रबी लामिछाने र सञ्चालनमा आउन लागेको ग्यालेक्सी टेलिभिजनको समूहको सहकार्यमा सो अस्पताल चलाइएको हो । अस्पताल प्रांगणमा टेलिभिजनको गाडी र लामिछाने फाउन्डेसनको व्यानर समेत राखिएको छ । लामिछाने आफैले ‘सरकारले कोरोना सङ्क्रमितको उपचार गर्न नसकेको र निजी अस्पतालमा शुल्क महँगो भएको कारणले’ आफूहरूले निःशुल्क उपचार गर्ने दाबी गर्दै सामाजिक सञ्जालमा भिडियो भाइरल गराइरहनुभएको छ ।
तर यो सबै लामो समयदेखि बन्द रहेको अस्पताल खुलाइएपछि गरिएको विज्ञापन साबित भएको छ । ‘निःशुल्क तथा सस्तो सुलभ शुल्कमा उपचार गर्ने’ विज्ञापन अस्पतालको विजनेस बढाउन गरिएको फण्डा रहेछ भन्ने एक उदाहरण हो, एक लाख १६ हजार रुपैयाँ तिर्दा पनि शव लैजान नदिनु । मृतकको आफन्तले उपचार खर्च सबै नतिरेको भन्दै जनमैत्री अस्पताल प्रशासनले कोरोना सङ्क्रमितको शव उठाउन दिएन । नयाँ बजार निवासी कोरोना सङ्क्रमित ६० वर्षीय रामचन्द्र श्रेष्ठ त्यहाँ वैशाख ३० गतेदेखि उपचाररत थिए ।
आइसियुमा उपचाररत विरामीको आज बिहान २ बजे निधन भयो । कोरोना सङ्क्रमितको मृत्यु भएपछि गरिने सबै प्रक्रिया पुरा भएपछि शव उठाउनुपर्ने हो । मृतककी पत्नी सानुमाया श्रेष्ठलगायतले सनाखत गरिसकेका थिए । दाहसंस्कारको लागि कोरोना सङ्क्रमितको शव लिन नेपाली सेनाको टोली तयार थियो । तर मृतकाका आफन्तबाट अझै एक लाखभन्दा बढी शुल्क लिर्न बाँकी रहेको भन्दै अस्पताल प्रशासनले शव लैजान दिएन । यता बिरामीको मृत्युपछि शोकमा रहेका परिवार तथा आफन्त अस्पतालले मागे बमोजिमकोे पैसा जुटाउन लागे ।
यसअघि उनीहरूले बिरामी भर्नाको समयमा १६ हजार र १ लाख रुपैयाँ सिद्धार्थ बैङ्कबाट ट्रान्सफर गरिदिएका थिए । अस्पतालले बाँकी ७७ हजार र औषधीको थप केही रकम मागेको थियो । सो रकम तत्काल तिर्न भन्दै अस्पताल प्रशासनबाट मृतकका आफन्तलाई लगातार फोन गरी दबाब आइरहेको थियो । आफन्तले उपचार खर्च महँगो भएको भन्दै गुनासो राखे । सबै पैसा तिरे पनि सबै हिसाब बुझाउने अस्पतालले बतायो ।
तर ‘कुन कुन शीर्षकमा कति खर्च भएको हो’ भनेर बिल नदिएसम्म पैसा भुक्तानी नगर्ने आफन्तले बताएपछि दाहसंस्कार गर्न अस्पतालले शव दिन मान्यो । मृत्यु भएको १३ घण्टापछि दिउँसो ३ बजे पछि मात्रै सेनाको टोलीले शव उठाएर लग्यो ।कुन–कुन शीर्षकमा कति कति खर्च भएको भन्ने हिसाब खोजेपछि मात्रै पैसा माग्न छाडेको मृतकका सालो नाता पर्ने सबु श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले एक लाख १६ हजार तिरिसकेका छौँ । कति खर्च भएको हो ? कुन–कुन शीर्षकमा कति खर्च भएको देखाइदिनुस् भनेपछि अस्पतालले हिसाब देखाउन सकेन । अनि ल भैगो भन्दै तिर्नु पदैन भनेको छ ।’ सरकारले कोभिडका बिरामीको उपचार गरेबापत सरकारी अस्पताललाई शुल्क तिर्छ। अस्पतालमा कोभिड–१९ केयर सञ्चालन सम्झौतामा संक्रमितको उपचार व्यवस्थापनमा लाग्ने खर्च सामान्य उपचारका लागि ३ हजार ५ सय, मध्यम उपचारका लागि ७ हजार र गम्भीर उपचार (भेन्टिलेटर) का लागि १५ हजार प्रति बिरामी प्रतिदिन तय गरिएको छ।
तर जनमैत्री अस्पतालले भने मृतक रामचन्द्र श्रेष्ठको उपचारको लागी एक दिनको २२ हजार भन्दा बढी शुल्क देखाएको आफन्त बताउँछन् । मृतकका आफन्त भन्छन् ‘एक साताको बिल २ लाख बढी आउनु भने सरकारले तोकेभन्दा अत्यधिक बढी शुल्क राखेर नै हो । नियम अनुसारको शुल्क लिने हो भने दैनिक ७ हजारका दरले ५० हजार हाराहारीको मात्रै बिल आउँथ्यो ।’
अक्सिजन पनि आफैँ ल्याउनुपर्छ बिरामीले
बिरामीको लागि १ सय बढी अक्सिजन सिलिण्डर आफूले ल्याएको बताउँदै मन्त्रीलाई हप्काएको भिडियो भाइरल बनाएका रबी लामिछानेले त्यो पनि फण्डा गरेको पुष्टि भएको छ । अस्पतालमा जति पनि उपचाररत बिरामी छन् अधिकांशले आफैले अक्सिजन ल्याउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई समानुपातिक रुपमा अक्सिजन वितरण गरेपछि केही सिलिन्डर सो अस्पतालले पनि पाएको छ ।
तर पनि अस्पतालले अक्सिजन छैन भनेपछि बिरामीका आफन्तले मध्यराती ललितपुर सातदोबाटोसम्म चहारेर अक्सिजन ल्याउनुपरेको भेटिएको छ । एक जना बिरामीका आफन्तले भने ‘सयौँ सिलिन्डर असिक्जन अस्पतालमा ल्याएको छु भनेर प्रचार भएकै दिन मेरा आफन्त त्यही अस्पतालमा भर्ना हुनुभयो, तर अस्पतालले असिक्जन छैन भन्यो । मध्यराती सयौं ठाउँमा चाहर्दा खाली सिलिन्डर भेटे । अक्सिजन उद्योगमा गएर भरेर ल्याएँ ।’ जनताटाइम्सबाट