गायत्री संस्कृत विद्यालयको चारकोठे भवनको शिलान्यास

चैत्र १० गते, विराटनगर । विराटनगर–७ स्थित गायत्री संस्कृत माध्यमिक विद्यालयको चारकोठे पक्की भवन निर्माण हुने भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्माण हुने भूकम्प प्रतिरोधी चारकोठे भवनको बिहीबार एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गरे । ४५ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन आगामी असार २५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

भवन निर्माण भएपछि विद्यार्थीलाई अध्ययन गर्न सहज हुने विद्यालयका प्रधानाध्यापक चूडामणि नेपाल ‘अकिञ्चन’ले बताए । उनका अनुसार विद्यालयमा साढे ३ सय विद्यार्थी अध्ययनरत छन् ।

भौतिक संरचना र शिक्षकको अभावका कारण सोचेजस्तो परिणाम आउन नसकेको प्रअ नेपालको भनाइ छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले शैक्षिक क्षेत्रको सुधारका लागि महानगरपालिकाले काम गरिरहेको बताए । उनले शिक्षाको विकास बिना अन्य क्षेत्रको विकास नहुने धारणा राखे ।

सम्बन्धित खवर