मंसिर १३ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–४ स्थित बयरवन बजारमा १५ शैयाको अस्पताल शिलान्यास हुने भएको छ । बयरवन बजारमा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गदै भोलि विहान अस्पतालको लागि निर्माण हुने भवनको शिलान्यास हुने भएको हो । अस्पताल ३६ मिटर चौडा र ६६ मिटर लम्बाईमा बन्ने भएको छ ।
अस्पतालका लागि निर्माण हुने भवनको शिलान्यास गर्ने र आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय यस अघि नै गाउँ कार्यपालिकाले गरिसकेको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । निमार्ण हुन लागेको अस्पतालको नक्सा समेत आइसकेकोले प्राविधिक टोलीसहित निर्माण हुने स्थानमा नापी गरीसकेको वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राईले बताए ।
शनिबार स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष धनबहादुर राईको अध्यक्षतामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजिवि र स्थानियहरुसँग अस्पताल १५ गते शिलान्यास गर्ने र अस्पताल निर्माण हुदा पुरानो तीन वटा भवनको क्षती हुने बारेमा शनिबार छलफल गरेका थिए ।
उपस्थित सवैले अस्पताल निर्माण हुदा चाहिने जग्गा भित्र पर्ने ती पुराना भवन निर्माण गरिदिने दाताहरुको सहमतीमा भत्काउदा हुने राय राखेका थिए । शनिबार नै वडाध्यक्ष धनबहादुर राई, सूर्य धिमाल, उमेश पौडेल र नगेन्द्र भट्टराईको टोली दाताकोमा पुगी भवन भत्काउने बारेमा अनुमती लिएका थिए ।
सुरुमा स्वास्थ्य चौकीमा जग्गा जम्मा साढें ८ कट्टा जमिन रहेको थियो । मोरङ क्षेत्र नं. ३ नेकपाबाट निर्वाचित स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई गाउँपालिकाबाट अस्पताल निर्माण गर्ने माग भए अनुसार अस्पताल आउने पक्का भएपछि गाउँपालिकाले दुई पटक गरेर २ कट्ठा भन्दा बढी जग्गा अस्पतालको नाममा खरिद गरेको छ । अहिले अस्पतालको जग्गा ११ कट्ठा भन्दा बढी रहेको छ ।
अस्पताल निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट असोज १९ गते कानेपोखरी गाउँपालिकामा पत्र आइसको थियो । अस्पताल निर्माणको लागि गत साउन २८ गते बसेको मन्त्री स्तरको बैंठकले १ करोड विनियोजन गरेको छ ।
अस्पताल भएपछि मेडिकल अफिसर १ जना स्थायी, ३ जना करार सहित ४ डाक्टर, २ स्टाफ नर्स, अनमी ४ जना रहने छन् । यसैगरी ल्याब टेक्निसियन, असिस्टेन्ट, एक्सरे अपरेटर र भ्याक्सिनेटर १–१ जना हुने छ ।
१५ शैयाको प्राथमिक अस्पतालबाट आधारभूत स्वास्थ्य सेवातर्फ जनशक्ति, स्वास्थ्य उपकरण तथा पूर्वाधारले भ्याएसम्म तोकिएका सबै किसिमका आधारभूत स्वास्थ्यसेवा प्रदान हुनेछन् । जसमा बहिरंग सेवा, इन्डोर सेवा, प्रयोगशाला, २४ सैं घण्टा आकस्मिक सेवालगायत सेवा उपलब्ध हुनेछन् ।
कानेपोखरी गाउँपालिकामा तीन वटा स्वास्थ्य चौकी रहेको छ । तीन स्वास्थ्य चौकी मध्ये गाउँपालिकाले बयरवन स्वास्थ्य चौकीलाई प्राथमिकतामा राखेको छ । स्वास्थ्य चौकीको जग्गा, बजार क्षेत्र, जनधनत्व, सडक, सुरक्षा, सवैको पायक पर्ने भएकोले गाउँपालिकाले वयरवन स्वास्थ्य चौकीलाई स्तरोन्नती लागि सुरु देखि नै अघि बढाएको छ ।
गाउँपालिकाले दुई बर्ष अघि देखि वयरवन स्वास्थ्य चौकीमा विशेषज्ञ डाक्टरबाट महिनामा एकचोटी सेवा दिर्दै आएको छ । बयरवन बजारमा २०३० सालमा स्थापना भएको वयरवन स्वास्थ्य चौकी ३७ बर्ष पछि अस्पतालमा रुपान्तरण हुने भएको हो ।