भदौ १५ गते, पथरी । मृत्यु पछि कोरोना पुष्टि भएका मोरङको पथरीशनिश्चरे –२ देवीगञ्जका एक व्यक्तिको परिवारका सदस्य तथा आफन्तलाई आज नगरपालिकाको टोलीले भेटेर सहानुभूति र समवेदना प्रकट गरेको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोला, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत, समिति सदस्य चन्द्रकुमार राई सहितको टोली पीडित परिवारको घर पुगेको थियो । टाढा बसेर सहानुभूति दिन समेत छरछिमेकीहरु त्रसित बनेको अवस्था दर्शाउँदै पीडित परिवारले नगरपालिकाको टोली आउँदा आफुहरुलाई दुःखलाई सहने शक्ति मिलेको बताएको छ ।
काजक्रियाको १३ दिनसम्मको दैनिक कर्म गराउन पुरोहित समेत त्रसित बनेर दैनिक कर्ममा समस्या भइरहेको अवस्थामा आज नै स्थानीयले पुरोहितको प्रवन्ध गरेका छन् । भौतिक दूरी कायम गरेर अत्यन्तै स्वास्थ्य सतर्कता अपनाएर परैबाट काजक्रियाको दैनिक कर्म गर्न स्थानीयले पुरोहितलाई सुझाव दिएका छन् ।
१० दिन अघि विरामी परेर विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार गर्न गएका ६५ वर्षीय पुरुषको भदौ १३ गते निधन भयो । उपचारको प्रारम्भिक अवथामा कोरोना नदेखिएपनि निधनपछि जाँच गर्दा कोरोना पुष्टि भएको थियो ।