२ असोज, बुटवल । बुटवल–५ स्थित हात बजारमा रहेको जिल्ला खेलकुद विकास समितिको सभा हलमा सम्पन्न ‘दोस्रो रुपन्देही जिल्ला स्तरीय सिएच आईटीएफ तेक्वान्दो प्रतियोगिता–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ । रुपन्देही सिएच आईटीएफ तेक्वान्दो संघको आयोजनामा दुई दिनसम्म सञ्चालित प्रतियोगिताको उपाधि चराङ्गे सिएच आईटीएफ तेक्वान्दो डोजाङले जितेको छ ।
भदौ २७ र २८ गते चलेको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देवदह नगरपालिकास्थित चराङ्गे डोजाङ ९ वटा स्वर्ण पदकका साथ टिम च्याम्पियन बन्न सफल भयो । त्यसैगरी, ८ स्वर्ण पदक जित्दै सिद्धार्थ नगरपालिकाको भैरहवा सिएच आईटीएफ तेक्वान्दो डोजाङ ‘फस्ट रनर अप’ र ७ स्वर्ण पदक हासिल गरी बुटवल उपमहानगरपालिकाको असन सिएच आईटीएफ तेक्वान्दो डोजाङ ‘सेकेन्ड रनर अप’ बने ।
जम्मा २ सय जना खेलाडीहरूको प्रतिस्पर्धा रहेको प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै चराङ्गे डोजाङकी जिन्दिया घर्ती मगर ‘महिला बेस्ट प्लेयर’ र भैरहवा डोजाङका सत्यम गुप्ता ‘पुरुष बेस्ट प्लेयर’ घोषित भए ।
संघका जिल्ला अध्यक्ष बोम बुढा मगरको अध्यक्षतामा भएको प्रतियोगिता नेपाल सिएच आईटीएफका केन्द्रीय सदस्य अनुप बुढा मगरले सञ्चालन गर्नुभएको थियो । भदौ २७ गते बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णु ढकालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको प्रतियोगिताको समापन समारोह भदौ २८ गते नेपाल सिएच आईटीएफका केन्द्रीय सदस्य अमित थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रतियोगितामा जिल्लाका ६ वटा डोजाङहरूको सहभागिता रहेको थियो । चराङ्गे सिएच आईटीएफ तेक्वान्दो डोजाङ (देवदह न.पा.), भैरहवा सिएच आईटीएफ तेक्वान्दो डोजाङ (सिद्धार्थ न.पा.), असन सिएच आईटीएफ तेक्वान्दो डोजाङ (बुटवल उ.म.न.पा.), प्रगति सिएच आईटीएफ तेक्वान्दो डोजाङ (बुटवल उ.म.न.पा.) , जनज्योति सिएच आईटीएफ तेक्वान्दो डोजाङ (तिलोत्तमा न.पा.) र कञ्चन सिएच आईटीएफ तेक्वान्दो डोजाङ (कञ्चन गा.पा.)
समापन कार्यक्रममा विजेता डोजाङ, उत्कृष्ट खेलाडी तथा सहभागीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।




प्रतिक्रिया