२ असोज, पथरी । मोरङको पथरी शनिश्चरे–४, शनिश्चरेस्थित भागीरथ माध्यमिक विद्यालयमा १४ औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित बृहत् विज्ञान प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ ।
प्रदर्शनीमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले १८ टोलीमा विभाजित भएर विभिन्न वैज्ञानिक नमुना तथा प्रयोग प्रस्तुत गरेका थिए ।
प्रदर्शनीमा विद्यार्थीहरूले मानव शरीर प्रणाली, जलचक्र, आसवन प्रक्रिया, प्रकाश संश्लेषण प्रक्रिया, आलुबाट विद्युत् उत्पादन, जलविद्युत् उत्पादन लगायत विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न नमुना निर्माण गरी प्रदर्शन गरेका थिए । पाठ्यपुस्तकमा अध्ययन गरेका विषयलाई प्रयोगात्मक रूपमा प्रस्तुत गर्दै विद्यार्थीहरूले आफ्नो बौद्धिक क्षमता, सिर्जनशीलता, कलात्मक सिप तथा मेहनत प्रदर्शन गरेका थिए ।
विद्यार्थीहरूले आफूले निर्माण गरेका नमुनाको कार्यप्रणालीबारे आगन्तुकलाई जानकारी दिनुका साथै विभिन्न वैज्ञानिक प्रक्रियाको व्याख्यासमेत गरेका थिए । यसले विज्ञान विषयको सिकाइलाई कक्षाकोठाबाट प्रयोग र व्यवहारसँग जोड्ने अवसर प्रदान गरेको थियो ।
प्रदर्शनी अवलोकन गर्न विद्यालय दुर्गा आधारभूत विद्यालय, आदर्श सीता आधारभूत विद्यालय , मिलन आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, जनकल्याण आधारभूत विद्यालय र स्मार्ट मन्टेश्वरीका प्रधानाध्यापक, प्रतिनिधि शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
विद्यालयका विज्ञान शिक्षक तथा सहायक प्रधानाध्यापक शैलेन्द्र बस्नेतले विद्यार्थीले विज्ञानका सिद्धान्तलाई आफ्नै हातले नमुना बनाएर प्रयोगमार्फत प्रस्तुत गर्दा उनीहरूमा खोज, अनुसन्धान र वैज्ञानिक सोचको विकास हुनुका साथै सिकाइलाई व्यवहारसँग जोड्न सहज हुने बताउनुभयो । शिक्षक प्रतिनिधि चेतनाथ पौडेलले विज्ञान प्रदर्शनीले विद्यार्थीलाई आफ्नो प्रतिभा र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर दिनुका साथै शिक्षक, अभिभावक र समुदायलाई विद्यार्थीको सिकाइ उपलब्धिसँग प्रत्यक्ष जोड्ने काम गरेको बताउनुभयो ।



प्रतिक्रिया