मुख्य खबर

कानेपोखरी अस्पतालमा चार विद्याका विशेषज्ञ डाक्टरहरुको सेवा सुरु हुने

दिनेश सुब्बा

१ असोज, मोरङ । कानेपोखरी गाउँपालिकाले सञ्चालन गरेको कानेपोखरी अस्पतालमा विभिन्न चार विधाका विशेषज्ञ चिकित्सकीय सेवा नियमित रूपमा सुरु हुने भएको छ । गाउँपालिकाले विशेषज्ञ चिकित्सकहरू छनोट गरी हाडजोर्नी तथा नसा रोग, जनरल फिजिसियन, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन र प्रसूति तथा स्त्रीरोग सम्बन्धी सेवा दिन लागेको हो ।

गाउँपालिकाले कानेपोखरी अस्पतालका लागि विशेषज्ञ चिकित्सक छनोट गरी यही असोज ४ गतेदेखि तोकिएको बार र समयमा विशेषज्ञ सेवा सञ्चालन हुने अस्पताल प्रशासन प्रमुख रोहिन्द्रराज भण्डारीले जानकारी दिएका छन् । यससँगै सामान्य उपचारका लागि मात्र सीमित रहेको स्थानीय अस्पतालबाट विशेषज्ञ चिकित्सकीय सेवा समेत प्राप्त हुने भएको हो ।

अस्पतालका अनुसार हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. मनोज फुयलले प्रत्येक आइतबार बिहान ९ बजेदेखि सेवा दिनेछन् । त्यस्तै जनरल फिजिसियन डा. भगवान बाबु साहले प्रत्येक बुधबार बिहान ७ बजेदेखि ८ः३० बजेसम्म सेवा दिने उल्लेख छ।

यसैगरी जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. सिजन कार्कीले प्रत्येक बिहीबार दिउँसो २ः३० बजेदेखि ४ बजेसम्म र प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. चिरञ्जिवी खड्काले प्रत्येक शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछन् ।

विशेषज्ञ सेवा लिन इच्छुक व्यक्तिले स्वास्थ्य बीमा कार्यक्रममा समावेश नभएको अवस्थामा ३०० रुपैयाँ नगद सेवा शुल्क तिर्नुपर्ने अस्पतालले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रममा समावेश भएका सेवाग्राहीका हकमा भने प्रचलित स्वास्थ्य बीमा कार्यक्रमअनुसार सेवा उपलब्ध हुने जनाइएको छ ।

गाउँपालिकाले स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालनमा ल्याएको हो । विशेषज्ञ चिकित्सकको सेवा नियमित रूपमा उपलब्ध भएपछि कानेपोखरी तथा आसपासका नागरिकलाई सामान्य उपचारका लागि बाहिरका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया