३० भदौ, काठमाडौं । जापानको आइची प्रिफेक्चरस्थित नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी हुने नेपाली उसु टोलीलाई एक विशेष समारोहबीच औपचारिक बिदाइ गरिएको छ ।
नेपाल उसु महासंघले एसियाडमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा निर्णायकलाई शुभकामनासहित बिदाइ गरिएको हो । यसपटकको एसियाडमा नेपालबाट उसुका १० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । टोलीमा ७ पुरुष र ३ महिला खेलाडी रहेका छन् । नेपालले उसुका दुई प्रमुख विद्या थाउलो र सान्सौँ मा सहभागिता जनाउनेछ ।
प्रतियोगितामा विजय सिन्जाली, हरिप्रसाद गोले, राजीव तामाङ, सुस्मिता तामाङ, दीपक हमाल, सविता राई, रोहित चुनारा, अमर सुनार, सन्जिव महर्जन र रिता ठकुल्लाले प्रतिस्पर्धा गर्नेछन् ।
टोलीको थाउलो प्रशिक्षकमा प्रकाश महर्जन तथा सान्सौँ प्रशिक्षकमा तुल्सीनन्द वज्राचार्य रहेका छन् । त्यस्तै, प्रतियोगितामा निर्णायकका रूपमा मन्जुर महर्जन सहभागी हुनेछन् ।
लामो समयको प्रशिक्षण र कडा मेहनतपछि जापान प्रस्थानको तयारीमा रहेको नेपाली उसु टोली पदक जित्ने दृढ संकल्पका साथ उत्साही देखिएको छ । एसियाडमा नेपाली खेलाडीको प्रदर्शनले देशको खेलकुद क्षेत्रलाई थप उचाइमा पु¥याउने अपेक्षा नेपाल उसु महासंघले गरेको छ ।



प्रतिक्रिया