पुस १३ गते, पथरी । पुस १५ देखि १९ गतेसम्म मोरङको पथरीशनिश्चरे नगरका १८ वर्षमाथिकालाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम तय भएको छ ।
१८ वर्षमाथिका खोप लगाउन बाँकी रहेकाहरुका लागि पहिलो मात्राको भेरोसेल खोप लगाउने सम्बन्धमा सोमबार नगरस्तरीय खोप समन्वय समितिको बैठक बसी वडा वडामा खोप लगाउने तालिका तय गरेको हो ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको बैठकले पुस १५ र १६ गते वडा नम्बर १ र ३ को आधारभूत स्वाथ्य सेवा केन्द्रमा, १७ र १८ गते वडा नम्बर २ को नगर अस्पतालमा र ७ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा खोप लगाउने निर्णय गरेको छ । त्यस्तै, हसन्दहतर्फ १५ र १६ गते वडा नम्बर ६ का लागि आधारभूत स्वास्थ्य सेवा केन्द्र मंगलबारेमा, १७ र १८ गते वडा नम्बर ५ को हसन्दह स्वास्थ्य चौकीमा खोप लगाइने छ ।
शनिश्चरेतर्फ, १५ र १६ गते वडा नम्बर ८ को आधारभूत स्वास्थ्य सेवा केन्द्र र १० को वडा कार्यालय, १७ र १८ गते वडा नम्बर ४ को आधारभूत स्वास्थ्य केन्द्र र ९ को वडा कार्यालयमा खोप लगाइने तयारी गरिएको स्वास्थ्य कर्मचारी यामबहादुर खड्काले जनाए ।
छुटपुट भएकाहरुका लागि पुस १९ गते नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र हसन्दह स्वास्थ्य चौकीमा खोप लगाउने कार्यक्रम रहेको छ । जसका लागि वडास्तरबाट समेत प्रचार प्रसार गर्ने निर्णय भएको छ ।