एमाले महानगर र उपमहानगरको मेयर, उपमेयर उम्मेदवार केन्द्रले तय गर्ने
नगर, गाउँपालिका प्रमुख, उपप्रमुख उम्मेदवार, महानगरका वडाध्यक्ष र सदस्य प्रदेश कमिटीले
नगर र गाउँपालिकाको वडाअध्यक्ष र सदस्य जिल्ला कमिटीले
चैत २ गते, काठमाडौँ । नेकपा एमालेले महानगरपालिका तथा उपमहानगरपालिकाको मेयर तथा उपमेयर उम्मेदवार केन्द्रले छनोट गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको उम्मेदवार छनोट विधि निर्धारण गरेको हो ।
जसअनुसार महानगर र उपमहानगरपालिकाको मेयर तथा उपमेयर उम्मेदवार केन्द्रले नै तय गर्ने छ । ‘प्रदेश कमिटीको सिफारिसमा महानगरपालिका तथा उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार केन्द्रले गर्ने विधि तय गरिएको छ,’ प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘महानगरपालिकाका वडाध्यक्ष र सदस्यहरुको बारेमा निर्णय प्रदेश कमिटीले गर्छ ।’
काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, वीरगंज, विराटनगर महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन् । त्यसैगरी नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवारको निर्णय भने प्रदेश कमिटीले गर्ने छ । ती उम्मेदवारहरुको सिफारिस जिल्ला कमिटीले गर्ने गुरुङले बताए । देशभर २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छन् ।
त्यसैगरी, वडाध्यक्षको उम्मेदवारहरुको जिल्ला कमिटीले निर्णय गर्ने छ । ‘पालिका कमिटीहरुको सिफारिसमा जिल्लाले यस विषयमा निर्णय गर्ने छ,’ गुरुङले भने, ‘कुनै स्थानका उम्मेदवारहरुको बारेमा विवाद भएमा एक तह माथिको कमिटीले त्यस विषयमा निर्णय गर्ने छ ।’ एमाले स्थानीय तह निर्वाचनका लागि केन्द्रले नै घोषणापत्र तयार पार्ने भएको छ । बुद्धिजीवी परिषद्को प्रस्तावमा नीति अनुसन्धान प्रतिष्ठानको समन्वयमा तयार हुने घोषणा पत्रलाई केन्द्रीय कमिटीले पारित गर्ने प्रमुख गुरुङले बताए । ‘बुधबार त्यस विषयमा कार्यशाला गोष्ठी हुँदैछ,’ गुरुङले भने, ‘केन्द्रको घोषणापत्र हुन्छ र ७ सय ५३ स्थानीय तहको प्रतिबद्धता पत्र जारी गर्छन् ।’
प्रतिबद्धता पत्रमा स्थानीय तहले हालसम्म गरेको काम र आगामी दिनमा गर्ने कामको बारेमा विवरण रहने छ । उम्मेदवार छनोटको मापदण्ड चैत ९ र १० गते हुने केन्द्रीय कमिटीको बैठकले तय गर्ने छ । ‘केन्द्रीय कमिटीको बैठकमा प्रदेशका अध्यक्षहरुले समग्र कामको रिपोर्ट गर्छन्,’ गुरुङले भने, ‘हाम्रो पार्टी र अन्य दलहरुको अवस्थामा कस्तो छ भन्ने विषयमा जिल्लागत रिपोर्टिङ हुनेछ ।’
मंगलबारको सचिवालय बैठकले चैत ७ मा पोलिटब्युरो र १३ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । विभाग, निकायहरुमा रहेका नेताहरुलाई आफ्ना जिम्मेवारीमा असर नपार्ने गरी निर्वाचन अवधिभर प्रदेश तथा जिल्ला कमिटीहरुको समन्वयमा आफ्नो सम्बन्धित भूगोलको काममा संलग्न गराउने तयारीमा एमालेले गरेको छ ।
वैशाख ३० गते हुने स्थानीय चुनावको विषयमा एमालेले सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।