कला

बालबालिकाका विषयमा पत्रकारिता गर्दा संवेदनशीलता अपनाउनुपर्नेमा जोड

१९ असोज, विराटनगर । बालबालिकासँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, गोपनीयता, सुरक्षा र सर्वोत्तम हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।

विराटनगरमा आयोजित ‘बाल–संवेदनशील पत्रकारिता’ सम्बन्धी दुई दिने तालिममा सहभागी पत्रकारहरूलाई बालबालिकाका विषयमा समाचार लेखन तथा सम्प्रेषण गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गरिएको हो ।

कन्सोर्टियम–नेपाल कोशी प्रदेश समितिको आयोजना तथा गुड शेफर्ड इन्टरनेशनल फाउन्डेसन नेपालको सहकार्यमा आयोजित तालिममा कोशी प्रदेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत १७ जना पत्रकारको सहभागिता रहेको थियो ।

तालिममा बाल अधिकार, पत्रकार आचारसंहितामा आधारित समाचार लेखन तथा बाल–संवेदनशील सञ्चार अभ्यासका विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो । बालबालिकासँग सम्बन्धित घटनाको समाचार सम्प्रेषण गर्दा उनीहरूको पहिचान, व्यक्तिगत विवरण र संवेदनशील अवस्थालाई अनावश्यक रूपमा सार्वजनिक नगर्ने, बालबालिकाको हितलाई केन्द्रमा राख्ने तथा समाचारको प्रभावबारे समेत विचार गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।

त्यसैगरी, बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, शोषण तथा अन्य संवेदनशील घटनाको समाचार बनाउँदा पत्रकारले अपनाउनुपर्ने व्यावसायिक र नैतिक सावधानीका विषयमा समेत सहभागीहरूलाई जानकारी गराइएको थियो ।

तालिमको सहजीकरण वरिष्ठ बाल अधिकारकर्मी तारक धितालले गर्नुभएको थियो । दुई दिनसम्म सञ्चालन भएको तालिमले बाल अधिकारका विषयलाई जिम्मेवार, मर्यादित र बाल–संवेदनशील ढंगले सञ्चारमाध्यममार्फत सम्प्रेषण गर्न पत्रकारहरूको क्षमता अभिवृद्धिमा सहयोग पुगेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया