खेलकुद

डिफेन्डिङ च्याम्पियन सलहेसलाई ३–० ले हराउँदै एनआरटी सेमिफाइनलमा

१९ असोज, पथरी । न्युरो टिम एनआरटी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन सलहेसलाई पाखा लगाउदै दोस्रो दिनको खेलमा एनआरटीले गत संस्करणको च्याम्पियन सलहेस फुटबल क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

एनआरटीले खेलको १० औँ मिनेटमै एनआरटीको आक्रमण रोक्ने क्रममा सलहेसका निग्मा घिसिङबाट आत्मघाती गोल भएपछि एनआरटीले खेलमा १–० को अग्रता बनाएको थियो ।

पहिलो हाफमा थप गोल हुन नसेन । प्रारम्भमै गोल खाएका सलहेसले एनआरटीका आक्रमणलाई रोक्न सकेन खेलको ८० औं मिनेटमा कृष्णबहादुर आलेले गोल गर्दै एनआरटीको अग्रता २–० मा पु¥याए ।

९० मिनेटको निर्धारित समय सकिएपछि थपिएको ४ मिनेटको समयमा सुदीप श्रेष्ठले एनआरटीका लागि तेस्रो गोल गरे । श्रेष्ठको गोलसँगै एनआरटीले ३–० को स्पष्ट जित निकालेका थिए ।

खेलमा एनआरटीका गोलरक्षक विशाल सुनार म्यान अफ दी म्याच घोषित भए । गोल्डकपमा आयोजक पथरी ११ फुटबल क्लबसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत सोमबार झापा–११ र थ्री स्टार क्लब ललितपुरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया