
१९ असोज, पथरी । थारु कल्याणकारी सभा पथरीशनिश्चरे नगर कार्यसमितिको आयोजनामा थारु समुदायको महत्वपूर्ण पर्व जितिया बृहद् सांस्कृतिक कार्यक्रमसहित मनाइएको छ ।
पथरीशनिश्चरे नगरपालिका–६ स्थित हसन्दह बजारमा आयोजित कार्यक्रममा नगर क्षेत्रका थारु महिलाहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुति दिएका थिए । कार्यक्रममा थारु समुदायसँगै विभिन्न जातजातिका मौलिक सांस्कृतिक नृत्य र झाँकीसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको सुरुवात थारु समुदायको धार्मिक परम्पराअनुसार जितमहानको पूजाआजाबाट गरिएको थियो । त्यसपछि थारु संस्कृति, परम्परा र मौलिकता झल्काउने विविध सांस्कृतिक नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो ।
पथरीशनिश्चरे नगरपालिका तथा वडा नम्बर ५ र ६ को सहयोगमा आयोजित कार्यक्रममा सहभागी अतिथिहरूले जितिया पर्वको शुभकामना दिँदै यस्ता कार्यक्रमले थारु समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुग्ने बताए । साथै, सांस्कृतिक कार्यक्रमले विभिन्न समुदायबीच आपसी भाइचारा, सद्भाव र एकता कायम गर्नसमेत सहयोग पुग्ने उनीहरूको भनाइ थियो ।
थारु कल्याणकारी सभा पथरीशनिश्चरे नगर कार्यसमितिका अध्यक्ष रामकुमार धामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष चेतेन्द्र खड्का प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका जिल्ला सभापति प्रदीपकुमार विश्वास, केन्द्रीय पार्षद् सरस्वती चौधरी, जिल्ला उपसभापति बाबुराम चौधरी, फोनिज केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली राई, जिल्ला सदस्य सुनिता चौधरी, पूर्व सभापति रामनारायण चौधरीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमको सञ्चालन थारु कल्याणकारी सभा नगर कार्यसमितिका सचिव गुन्जा चौधरीले गरेका थिए ।




प्रतिक्रिया