सामुहिक बलत्कार प्रकरणमा पक्राउ परेका कराँतेका प्रशिक्षकद्वय राउत र सुवेदी जेल चलान

साउन ६ गते, विराटनगर । जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदी पुर्पक्षको लागि जेल चलान भएका छन् ।

मोरङ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजालशले आज पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेका हुन् । अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

विहिबार सरकारी वकिल कार्यालय मोरङले उनीहरूविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो । मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अन्तर्गत दुवैलाई जबजरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गरि अभियोग दायर गरेको थियो । दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो ।

शुक्रबार र शनिबार सार्वजनिक बिदा भएकोले आइतबार बयान र थुनछेक बहस भएको थियो । आइतबार वादी र प्रतिवादीका कानुन व्यवसायीहरुको बहस नसकिएपछि आज मात्र सकिएको थियो । वादी र प्रतिवादीका कानुन व्यवसायीहरुले बहस सकेपछि आदलतले आदेश गरेको हो ।

विराटनगर महानगरपालिका–४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् । पीडित युवती सोही कलेजमा अध्ययनरत् इटहरी उपमहानगरपालिका–८ की १९ वर्षीया छात्रा हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले पीडित युवतीमाथि सामूहिक र पटक–पटक करणी हुँदै आएको जनाएको छ । अन्तिम पटक भने असार २८ गते सुवेदीले करणी गरेका थिए । पीडितमाथि जेठ महिनामा विराटनगरको मुनालपथस्थित विराट होटलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए ।

युवतीको अश्लील भिडिओ बनाई उनीमाथि पटक–पटक करणी हुँदै आएको पीडितले दिएको जाहेरीमा उल्लेख छ । तर, अनुसन्धान प्रतिवेदनमा भिडिओ नभेटिएको भन्दै प्रहरीले सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो ।

सम्बन्धित खवर