रमाइलो क्याम्पसको संचालक समितिको अध्यक्षमा ताराबहादुर काफ्ले निर्वाचित

फागुन १७ गते, कानेपोखरी । रमाइलो बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा कानेपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष तारा बहादुर काफ्ले निर्वाचित भएका छन् ।

मोरङको कानेपोखरी –५ स्थित भौसाबारीमा रहेको क्याम्पसमा आज भएको निर्वाचनमा १४ मत ल्याई काफ्ले अध्यक्षमा निर्वाचित भएको हो । अध्यक्षका अर्का प्रतिद्धन्दी क्याम्पस संचालक समितिका निवर्तमान अध्यक्ष दुर्गा बहादुर कार्कीले ५ मत ल्याएका थिए । काफ्ले नेकपा(एमाले) बाट उम्मेद्वार थिए भने कार्की माओवादी केन्द्रबाट उम्मेद्वार बनेका थिए । कांग्रेसले भने अध्यक्षमा उम्मेद्वार उठाएका थिएन ।

उपाध्यक्षमा चरण गुरुङ र मेघनाथ मुखिया निर्वाचित भएका छन् । एमालेबाट उम्मेद्वार बनेका गुरुङले १४ र कांग्रेसबाट उम्मेद्वार बनेका मुखियाले १७ भोट ल्याएका थिए । माओवादी केन्द्रबाट उपाध्यक्षको उम्मेद्वार बनेका कमल कार्कीले ७ मत ल्याउँदै पराजित भएका थिए । समितिमा दुईजना उपाध्यक्षको व्यवस्था रहेको छ ।

यस अघि क्याम्पस संचालक सदस्यमा २१ जना सदस्य छनौट भएका थिए । सोही २१ जनाबाट अध्यक्ष र उपाध्यक्ष बन्ने प्राबधान रहेको छ । संचालक समितिका अध्यक्ष र उपाध्यक्षमा दलगत सहमति नभएपछि निर्वाचन भएको थियो ।

संचालक समितिको निर्वाचनमा निर्वाचन दिने अधिकार २१ जनाको मात्र रहेको थियो । निर्वाचनमा १ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । २०४८ सालमा स्थापना भएको क्याम्पसमा कक्षा ११, १२ र स्नातक अध्यापन हुदै आएको छ । मानविकी, शिक्षा शात्र र व्यवस्थापन अध्यापन हुदै आएको छ ।

 

सम्बन्धित खवर