कानेपोखरी गाउँपालिकाको केन्द्र सार्ने प्रस्ताव दुई तिहाइबाट पारित

बैशाख १७ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहितको केन्द्र सार्ने गाउँसभाले निर्णय गरेको छ ।

गाउँपालिकाको १३ औँ गाउँसभाले मतदान गर्ने निर्णय गरेपछि मतदानमा २७ जनाले सार्ने पक्षमा मतदान गरेपछि दुई तीहाई मत पाएका थिए । उता ७ जनाले नसार्ने पक्षमा मतदान गरेका थिए भने ४ जनाले मतदान नै नगरी खाली मतपत्र खसालेका थिए ।

३९ जना गाउँसभा सदस्य रहेको पालिकामा अध्यक्षले मतदान गरेका थिएन । सभामा गाउँपालिकाका अध्यक्ष राजमती इङ्नामको तर्फबाट गाउँपालिका प्रवक्ता सुशील बुढाथोकीले गाउँसभामा पालिकाको केन्द्र पालिकाले खरिद गरेको वडा नम्बर ५ भौंसाबारीमा सार्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति हुन नसकेपछि मतदान भएको थियो ।

कानेपोखरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा पालिकाको केन्द्र स्थापनाको लागि भन्दै भौंसाबारीमा १ विगाहा जग्गा २ करोड ५ लाखमा खरिद गरेको थियो । गाउँपालिकाले २०७८ असार २३ गते मुआब्जा निर्धारण समितिमा पेश गरेको प्रतिवेदनको आधारमा उक्त जग्गा प्रतिकठ्ठा १० लाख २५ हजारमा खरिद गरेको हो ।

त्यो जग्गामा पालिकाको प्रमुख प्रशासनिक केन्द्र बनाउने कि नबनाउने भन्ने विषयमा विवाद भइरहेको थियो । अहिले गाउँपालिकाको भवन वडा नं. ६ मा रहेको छ ।

सम्बन्धित खवर