रबिन्द्र बराल, चैत १८ गते, रंगेली । मोरङको रंगेली नगरपालिकाले कोरोना भाइरस नियन्त्रण गर्नको लागी स्वंयमसेवक परिचालन गरेको छ ।
‘प्रहरीको साथी म’ नारा सहित समुदाय–प्रहरी साझेदारी कार्यक्रम अनुसार रंगेली नगरपालिकाले मोरङ प्रहरीसंग सहकार्य गरी प्रहरी संगै हरेक वडामा १०÷१० जना गरी करिव ९० जना स्वंयमसेवक परिचालन गरेको हो ।
रंगेली क्षेत्रमा लकडाउनलाई सफल बनाउने उदेश्यले यस्तो अभियान सुरु गरेको नगरपालिकाका मेयर दिलिप बगडीयाले बताए । स्वंयमसेवक अभियानलाई सफल बनाउन जिल्ला प्रहरी उपरिक्षक विश्व अधिकारी र रंगेली नगरपालिका मेयर दिलिप वगडीयाले संयुक्त रुपमा मंगलबार ‘प्रहरीको साथी म’ नारा लिखित पोशाक स्वंयम सेवकलाई हस्तान्तरण गरेका थिए ।
जिल्ला प्रहरी उपरिक्षक विश्व अधिकारीले अहिलेको महामारीमा नागरिक र प्रहरी हातेमालो गरेर खुल्ला रहेको नाकाको आगमनलाई रोक्ने र मानिसहरुलाई घर भित्रै लकडाउन गर्ने उदेश्य सहित बास्तविक समुदाय–प्रहरी साझेदारीको कार्यको थालनी भई उनिहरुलाई परिचालन गरिएको बताए ।
स्वंयमसेवकको स्वास्थ्यलाई समेत ध्यानमा राखेर नगरपालिकाले आवश्यक हातेपन्जा, माक्स, सेनिटाइजर लगायतको सामाग्री उपल्वध गराई आपसी दुरी कायम गर्नका लागी सचेत गराएको छ ।