पथरीशनिश्चरेमा ५० वेडको क्वारेन्टाइन निर्माण, क्वारेन्टाइनमा बस्ने ३३ जना पुग्यो

जेठ २१ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन खडा गरेको प्रारम्भिक स्वास्थ्य सुरक्षाको एकान्तस्थल ‘क्वारेन्टाइन’ का लागि अहिले सम्म ५० वटा बेड तयार गरेको छ ।
‘होल्डिङ एरिया’ को रुपबाट अघि बढ्दै पथरी बहुमुखी क्याम्पसमा सुरु गरिएको ‘क्वारेन्टाइन’ मा यस अघि ३५ बेड रहेकोमा १५ बेड थप्ने काम भइरहेको उपप्रमुख यामुना विष्ट बास्तोलाले बताइन ।

भारत लगायतका देशबाट घर फर्किनेहरुबाट कोरोना भाइरसको जोखिम बढ्न नदिन र घर फर्किनेहरुलाई पनि सुरक्षित बनाउन नगर कार्यपालिकाको निर्णय अनुरुप नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको व्यवस्थापनमा ‘क्वारेन्टाइन’ स्थापना गरिएको हो ।

भारतबाट आएका हालसम्म ३३ जना क्याम्पसको ‘क्वारेन्टिन’ मा बसिरहेका छन् । त्यस बाहेक नगरकै निगरानीमा ६ जना होम क्वारेन्टाइनमा, २ जना कानेपोखरी गाउँपालिका फिर्ता र १ जना क्षयरोगका विरामी भएकाले उपचारका लागि धरान पठाइएको छ ।

क्वारेन्टाइनका लागि पथरी अस्पतालले १०, कावेली अस्पतालले १०, मोरङ अस्पतालले ६, सुदिप मेडिकलले ४ वटा बेड प्रदान गरेको छ । अन्य बेड नगर अस्पताल र नगरपालिकाको समन्वय समितिले व्यवस्थापन गरेको छ ।

सम्बन्धित खवर