जेठ २५ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले यही जेठ २६ र २७ गते ७ वटै वडामा कोरोना भाइरस विरुद्धको ‘भेरोसिल’ खोप लगाउने भएको छ ।
६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकका लागि कोरोना भाइरस विरुद्धको ‘भेरोसिल’ खोप लगाउने भएको हो । काठ्माडौं उपत्यकामा भेरोसिल खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउने अवधि १ महिना पुरा भएकोहरुले पनि लगाउन पाउने छन् । त्यसैगरी अग्रपंक्तिमा खटिएका यस अघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, चिकित्सा क्षेत्रमा इन्टर्न विद्यार्थी, ओजिटी गरिरहेका नर्स तथा पारामेडिक्स र ६५ बर्ष माथीका कुनै खोप नलगाएका उमेर समूहका व्यक्तिहरुले लगाउनु पाउने गाउँपालिकाले जनाएको छ ।
खोप कार्यक्रमका लागि जेठ २६ गते वडा नम्बर ४ को वयरवन स्वास्थ्य चौकी, वडा नं. ३ को वडाकार्यालय र वडा नं. ५ को वडाकार्यालय रहेको छ । त्यसैगरी जेठ २७ गते वडा नं. १ को होक्लाबारी स्वास्थ्य चौकी, वडा नं. २ को वडाकार्यालय, वडा नंं ७ को वडाकार्यालय र गाउँपालिकाको कार्यालयमा खोप तालिका बनाईएको छ ।
खोप लगाउन आउनेले नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्र ल्याउनु पर्ने छ । सिकिस्त विरामी परेका, ७ दिनभित्रको सुत्केरी, गर्भवती, कोरोना नेगेटिभ आएको १ महिना नभएको व्यक्ति, कोरोना संक्रमित भएको र प्लाज्मा थेरापी लिएको ३ महिना नभएको व्यक्तिले खोप लगाउन नमिल्ने स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।