कानेपोखरीमा छिमेकीको कुटाइबाट गुम्यो मानसिक सन्तुलन

खिलनाथ विक
असार ४ गते,विजयपुर । छिमेकीले मोबाइलको सिम कार्ड चोरेको आरोपमा कुटपिट गर्दा मानसिक सन्तुलन गुमाएकी कानेपोखरी–५ चिसाङबस्ती मोरङकी ‘शोभा दर्जी’ भनेर चिनिने डुक्का तामाङ दर्जीको महिनांै बित्दा पनि कानूनी प्रक्रिया सुरु हुन सकेको छैन ।

कमजोर आर्थिक अवस्था भएकी शोभा कुटपटिबाट मानसिक रूपमा विक्षिप्त भए पनि पीडकहरू विरुद्ध हालसम्म कानूनी प्रक्रिया अगाडि बढ्न नसकेको हो । शोभाकी आमा देवी दर्जीले सुरुमा बिरामीको अवस्था सामान्य ठानी छिमेकीसँग पनि किन नराम्रो गर्नु भनेर उजुरी दिन नगएको बताइन् । तर, छोरीको अवस्था जटिल बन्दै गएपछि कानेपोखरी प्रहरी चौकीमा उजुरी दिनका लागि पुग्दा घटना पुरानो भएको भन्दै उजुरी लिन नमानेको उनले बताइन् । अहिलेसम्म पनि प्रहरीमा उजुरी दर्ता भने भएको छैन ।

२५ वर्षीया शोभालाई वैशाख ३० गते चिसाङ बस्तीकै विन्दा, बबिता, पुष्पा र निरमाया मगरले कुटपिट गरेका थिए । उनीहरूको कुटपिटबाट शोभाको पूर्णरूपमा मानसिक सन्तुलन गुमेको छ । शोभाको पेटमा २ महिनाको गर्भ पनि रहेको छ । उनीहरू ४ जनाले कुट्दा कुट्दै शोभा ढलेकी थिइन् ।

१ घण्टा जति बेहोस भएपछि पानी छ्यापेर होस आएको कानेपोखरी जनअधिकार मञ्चकी अध्यक्ष दुर्गा नेपालीले बताइन् । उनले पानी छ्यापेर होस आउँदा शोभाको मानसिक सन्तुलन गुमिसकेको बताइन् ।

शोभाको मानसिक सन्तुलन गुमेर बेहोसमा बोल्न थालेपछि पुनः कुटेरै होस आउने भन्दै उनीहरूले कुटेको उनको भनाइ छ । शोभाकी आमा देवीले वैशाख ३० मा कुटपिटबाट घाइते भएकी शोभालाई भोलिपल्ट सुरुमा पथरी अस्पतालमा उपचार गर्न लगेको बताइन् ।

त्यहाँ उपचार सम्भव नभएपछि गाउँलेको सल्लाहमा छोरीलाई बाँधेर राखिन् । उनी भन्छिन्, ‘केही दिनमा ठीक हुन्छ होला भनेको त झन् जटिल बन्दै गयो ।’

उनलाई बाँधेर नै धामीझाँक्री लगाइयो । तर, बिरामीको अवस्था झन् जटिल बन्दै गयो, त्यसपछि केराबारीको सुविधा अस्पतालमा मानसिक रोगका विशेषज्ञलाई देखाएको देवीले बताइन् ।

लामो समय उपचार गर्दै जाँदा बिरामीको अवस्था थप गम्भीर बन्दै गएपछि हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।

शोभालाई १२ दिनदेखि बीपी प्रतिष्ठानको मानसिक रोग विभागको युनिट–३ मा हात खुट्टा बाँधेर उपचार भइरहेको छ । तर, उनको अवस्था कस्तो छ भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन । उनकी आमा देवीले हालसम्म भिडियो एक्स–रे समेत नगरेको बताइन् । देवी भन्छिन्, ‘एक्स–रे गर्न लाँदा डाक्टरलाई नै लात्तीले हानी अरे, त्यसपछि थोरै सुधार भएपछि गर्नुपर्छ भनेका छन् ।’

तर, अहिलेसम्म केही सुधार नभएको उनले बताइन् । यता प्रतिष्ठानका सह–प्रवक्ता चूडामणि पोखरेल शोभाको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै केही सुधार भएको बताउँछन् । उनले भने, ‘हाल पहिलेभन्दा बिरामी केही निदाउन थालेको छ ।’

शोभाका पति कुमार तामाङले छिमेकीले बिना कारण कुटेर पत्नीलाई मानसिक रूपमा विक्षिप्त बनाएकाले क्षतिपूर्तिसहित उपचार गरिदिनुपर्ने बताए । ‘कुटपिट गर्नु अघिसम्म काम गरिरहेकी थिइन्’ –उनले भने ।

कानूनी प्रक्रिया सुरु

शोभालाई कुटपिट गर्ने विरुद्ध कानूनी उपचार थालिएको छ । उनीहरूले कुटपिट गर्ने विन्दा, बबिता, पुष्पा र निरमाया मगरविरुद्ध इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दर्ता गर्न गएको मञ्चकी अध्यक्ष नेपालीले जानकारी दिएकी छन् । उनले भनिन्, ‘हामी आजै दर्ता गर्न भनेर लागेका छौं, प्रहरीले भोलि गरौँ भनेको छ ।’ उनीहरू ४ जनाविरुद्ध कुटपिट र जातीय भेदभावसम्बन्धीको उजुरी दिन लागेको बताइन् ।

इलाका प्रहरी कार्यालयका डीएसपी कृष्ण खड्काले विभिन्न संस्थाहरूसँग छलफल गरेर जाहेरी ल्याउने तयारी गरेको तर, दर्ताका लागि नआएको बताए । उनले जाहेरी आएपछि अनुसन्धान सुरु गर्ने र कानूनी प्रक्रिया अगाडि बढाउने बताए ।

उपचारमा आर्थिक समस्या

प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी शोभाको उपचारमा अहिले आर्थिक अभाव भएको छ । ‘लामो समय घरमा धामीझाँक्री साथै अस्पतालमा उपचार गर्दा गर्दै आफूसँग भएको केही रकम सकिहाल्यो, अब उपचार गर्न नै समस्या हुन थाल्यो’–कुमारले भने । उनले गिट्टी कुटेर ८–१० हजार घरखर्चको लागि राखेको पनि सकिएको र उपचारमा समस्या भएको बताए ।

प्रतिष्ठानमा उपचार गर्न आउँदै आफूसँग उपचार गर्ने पैसा नभएपछि गाउँपालिका अध्यक्षले १५ हजार रुपैयाँ दिएर उपचार गर्न आएको सीताले बताइन् ।

कुमारले मजदुरी गरेर सामान्य जीविकोपार्जन गर्दै थिए । श्रीमतीको यस्तो अवस्थामा पुर्याइ दिनेहरूले उपचार गरिदिनुपर्ने उनले बताए । ‘आफूसँग छैन, उनीहरूले अहिलेसम्म चासो राखेका छैनन्, समस्या भयो’–कुमारले भने ।

घटना यसरी भएको थियो

केही समयअगाडि शोभाकी ७ वर्षीया छोरीले फोहोरमा फ्याँकेको मोबाइल खेलाउँदै लिएर आएपछि शोभाले मोबाइलमा भएको सिम आफ्नो मोबाइलमा लगाएकी थिइन् ।

मोबाइलमा लगाएपछि फोन आयो । फोन उठाएपछि उनलाई सिम चोरको आरोप लगाए । ‘मैले सिम चोरेको होइन, कसको रहेछ भनेर दिनका लागि मोबाइलमा हालेको थिएँ, तिमीहरूको रहेछ लैजाऊ । फोहोरमा भेटिएको मोबाइलको सिम दिँदा कसरी चोर भएँ’ शोभाले भनेकी थिइन् ।

त्यसपछि जहाँ भेट्दा पनि ‘दमिनी चोर्नी सिममा १५ सय रुपैयाँ थियो’ भन्दै गाली गर्ने गरेको र यही विषयलाई लिएर उनीहरूले शोभालाई मानसिक सन्तुलन नै गुम्ने गरी कुटपिट गरेका थिए । ब्लाष्ट खबरबाट

सम्बन्धित खवर