कार्तिक २४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले वडा नम्बर ६ स्थित तित्रीझाँकमा सुबोल चन्द्रवंशीको घरमा भएको आगलागीको क्षतिका बारेमा अनुगमन गरेको छ ।
बुधबार नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख एवम अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोला, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल सहितको टोलीले अनुगमन गरेको हो ।
कार्तिक २२ गते विहान साढे ९ बजेको समयमा टाटीको बेरा भएको टाँडे घरको टाँडबाट उठेको आगोले नगद ३६ लाख ७७ हजार सहित घर र घरको सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । जग्गा किन्नका लागि लिइएको ऋण रकम दराजमा रहेको अवस्थामा आगोले जलेर नष्ट भएको पाइएको छ ।
नम्बर भएको अवस्थाका नोटहरु साट्ने व्यवस्थाका लागि वडा र नगरले नेपाल राष्ट्र बैंकलाई सिफारिस गर्ने भएको छ ।