असार १६, कानेपोखरी । मोरङको कानेपोखरी ५, स्थित रमाइलो क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
वडा नं. ५, वडा कर्यालयले वडाभित्रका ४१ विद्यार्थीलाई १ लाख ९८ हजार ८ सय ५० रुपैया छात्रवृत्ति प्रदान गरिएको हो । प्रत्येक विद्यार्थीलाई ४ हजार ८ सय ५० रुपैया दरले प्रदान गरिएको वडा अध्यक्ष चरण गुरुङले बताए ।
शुक्रबार वडा कार्यालयमा वडा अध्यक्ष चरण गुरुङ, वडा सदस्य तथा न्यायिक समितिका सदस्य रखि लाल चौधरी र वडा सदस्य दिपक प्रसाद लुईटेलले छात्रवृत्ति वापतको चेक हस्तान्तरण गरेका थिए ।
वडा अध्यक्ष चरण गुरुङको नेतृत्वको वडा कार्यालयले रमाइलो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई २०७५ सालदेखि नै छात्रवृत्ति प्रदान गर्दै आएका थिए । गत बर्ष सम्म कक्षा ११, १२ र स्नातक तह सम्म वडाले छात्रवृत्ति प्रदान गरिन्र्दै आएको भएता पनि यस बर्ष देखि कक्षा ११ र १२ गाउँपालिकाले निशुल्क शिक्षा प्रदान गरेपछि स्नातक तहका विद्यार्थीलाई मात्र प्रदान गरिएको हो ।
कानेपोखरी गाउँपालिकाले यस शैक्षिक सत्र देखि स्नातक अध्ययन गर्ने कानेपोखरी गाउँपालिका क्षेत्रका वुहारीहरुलाई निशुल्क शिक्षा प्रदान गरेको छ । साथै कानेपोखरी क्षेत्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत छात्राछात्रलाई यसै शैक्षिक सत्रबाट निशुल्क शिक्षा प्रदान गरेको छ ।