कानुनका विद्याथीहरु कानेपोखरी र लेटाङका न्यायिक समितिसँग अन्तरक्रिया

७, पुस, कानेपोखरी । कानुन विषयका विद्यार्थीहरुले कानेपोखरी र लेटाङ पालिकाका न्यायिक समितिसँग अन्तरक्रिया गरेको छ ।

शुक्रबार मोरङको पथरीशनिश्चरे –१ स्थित पञ्चायत नमुना माविका कानुन संकायमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूले न्यायिक समितिसँग न्याय सम्पादनका विषयमा अन्तरक्रिया गरेको हो ।

कक्षा १२ का विद्यार्थीहरुले कानेपोखरी गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक भोलाप्रसाद अधिकारी र कक्षा ११ का विद्यार्थीले लेटाङ नगरपालिकाका उपमेयर तथा न्यायिक समितिका संयोजक कृष्णकुमारी पोख्रेल निरौलासँग अन्तरक्रिया गरेका हुन् ।

विद्यार्थीहरूले कानेपोखरी गाउँपालिकाको न्यायिक समितिका संयोजक अधिकारी सहित सोहि गाउँपालिकाका कानुनी सल्लाहकार हरि बराल, न्यायिक समिति सदस्य दुर्गा नेपालीले पालिकामा न्यायका लागि आएका विभिन्न मुद्दाका विषयमा सुनाएका थिए । कानुनी सल्लाहकार बरालले स्थानीय सरकार सञ्चालन ऐन – २०७४ अनुसार पालिकाले गर्दै आएका न्यायिक निरूपण र बहस पैरवीको क्षेत्राधिकारबारे प्रस्ट पारेका थिए ।

पञ्चायतमा ४२ सयको हाराहारीमा विद्यार्थीहरू अध्ययनरत रहेका छन । कानुन विषयमा कक्षा १२ मा ४५ जना र कक्षा ११ मा ३१ जना विद्यार्थी अध्ययन गरिरहेको प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिए । उक्त अवसरमा कानेपोखरी गाउँपालिका कार्यपालिका सदस्यहरू पदमकुमारी कार्की, सुशीला श्रेष्ठ, प्रमिला परियार, पञ्चायत माविका सूचना संयोजक कानुन विषय शिक्षक केशव निरौला, शिक्षक दिनेश सुवेदी र सुरेन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

मोरङका सामुदायिक विद्यालयमा विराटनगरबाहिर पहिलो पटक पञ्चायत माविले कक्षा ११ र १२ मा कानुन विषय समूहको पठनपाठन सुरू गरेको पाइन्छ ।

 

सम्बन्धित खवर