लेटाङ नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न, ४ वटा विधेयक र २ वटा विशेष प्रस्ताव पारित

१७ माघ, लेटाङ । लेटाङ नगरपालिकाले विगतको तुलनामा स्थानीय तह आन्तरिक संस्थागत स्वमूल्यांकन र स्थानीय तह वित्तिय जोखिम मूल्यांकन फ्रा को नतिजामा सुधार गरेको छ । नगरपालिकाको चौधौं नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख भूपेन्द्र कुमार लावतीले विगतको तुलनामा स्थानीय तह आन्तरिक संस्थागत स्वमूल्यांकन(लिसा) र स्थानीय तह वित्तिय जोखिम मूल्यांकन फ्रा को नतिजामा सुधार भएको जानकारी दिए ।

लिसातर्फ विगत भन्दा १५ अंकले बृद्धि भइ ६८ दशमलव ५ अंक र स्थानीय तह वित्तिय जोखिम मूल्याँकन ९फ्रा० तर्फ विगतभन्दा १८ अंकले बृद्धि भइ ७७ अंक प्राप्त भएको छ । लेटाङ नगरपालिकाले यसतर्फ जिल्लाकै तेश्रो स्थान हासिल गरेको पनि नगर प्रमुख लावतीले जानकारी दिएका छन् । उनले विगत भन्दा केहि सुधार भएपनि अझै सुधार गर्नुपर्ने देखिएकाले नगरपालिका त्यसमा लागिपर्ने समेत उल्लेख गरे ।

नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख लावतीले महालेखा परीक्षक प्रतिवेदनमा समेत नगरपालिकाको अवस्था सुधार भएको आफुलाई अनौपचारिक जानकारी आएको बताए । औपचारिकरुपमा प्रकाशन नभएपनि प्रारम्भिक प्रतिवेदन अनुशार विगतको तुलनामा सुधारोन्मुख अवस्था रहेको सूचना आएको उनको भनाइ छ ।

दुई वटा विशेष प्रस्ताव पारित
यसैगरि लेटाङ नगरपालिकाको चौधौं नगरसभाले २ वटा महत्वपूर्ण विषयमा विशेष प्रस्ताव पारित गरेको छ । नगरमा एउटा कृषि थोक बजार स्थापना गर्ने विषयमा नगरसभाले विशेष प्रस्ताव पारित गरेको हो । यस्तै शहिद पार्क निर्माण गरी पर्यटन प्रवर्धनसँग जोडेर अघि बढाउने विशेष प्रस्ताव नगरसभाले पास गरेको छ । लेटाङ नगरपालिकामा शहिदको सालिक राख्ने विषयमा विवाद भइरहेका बेला नगरपालिकाले त्यस विषयलाई महत्व दिंदै विशेष प्रस्ताव पारित गर्दै पर्यटन प्रवर्धनसँग जोडेर सहिद पार्क निर्माण गरेर जाने निर्णय गरेको हो ।

प्राथमिकता दुई का योजनाहरु रद्द
लेटाङ नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा दोश्रो प्राथमिकतामा राखिएका योजनाहरु रद्द गरेको छ । तेह्रौं नगरसभाले पारित गरेका दोश्रो प्राथमिकताका योजनाहरु नगरपालिकाको चौथौं नगरसभाले रद्द गरेको हो । नगरपालिकाको अनुमानित आयमा ठूलो मात्रामा गिरावट आएकाले पी टू का योजनाहरु कार्यान्वयन गर्न नसकिने अवस्था आएको नगर प्रमुखले जानकारी दिए ।

स्थानीय नदीजन्य पदार्थ विक्रीबाट प्राप्त हुने आय अनुमान खुद आय ११ करोड ८१ लाख ७५ हजार भन्दा निकै कम कूल ६ करोड १० लाखमा ठेक्का लाग्ने संभावना रहेकाले यसबाट नगरपालिकालाई करिव ३ करोड २३ लाखसम्म प्राप्त हुन सक्ने र अन्य अनुमानित स्रोतको प्राप्तिमा समेत कमी रहेकोले अनुमान गरेको घाटा बजेट पूर्ति हुने संभावना न्यून रहेकाले दोश्रो प्राथमिकताका योजनाहरु कार्यान्वयन गर्न सकिने संभावना नदेखिएको जनाइएको छ ।

चालु आवमा सम्पन्न भएका योजना
नगरपालिका विकास बजेट खर्च गर्ने पक्षमा भने कमजोर देखिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा ४ वटा योजना मात्र सम्पन्न गरेको नगर सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा लेटाङ कानेपोखरी सडक मर्मत, वडा नं २ र ९ को भवन निर्माण तथा रङरोगन, घुम्ति लामीटार सडक निर्माण र न्यायीक समितिको भवन निर्माणका योजना सम्पन्न भएको जनाइएको छ ।

नगरका महत्वपूर्ण योजनाहरू
नगरसभामा नगर प्रमुख लावतीले नगरका महत्वपूर्ण तथा कार्यान्वयन सुरु गरिएका योजनाहरु बारे पनि जानकारी गराए । जसमा अन्तर धार्मिक शान्ति पार्क, मूर्चुङ्गीखोला पूल निर्माण, वडा नं २ र ९ को भवनको कम्पाउण्ड वाल निर्माण, राजारानी सौन्दर्यकरण आयोजना, १० शैया अस्पताल निर्माण, डाँडाँगाउँ सडक निर्माण, समला खानेपानी योजना, चिसाङघाट निर्माण, भुवाखोला सडक स्तरोन्नती, शान्ति भगवती छात्रबास भवन निर्माण र।चुरेमा चिउरी रोपन कार्यक्रम रहेका छन ।

चालु आवमा सम्पन्न गर्नु पर्ने योजनाहरु
लेटाङ नगरपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न गर्ने केही योजना बारे पनि नगरसभामा जानकारी गराइएको छ । जसमा लेटाङ बजारमा वसपार्क निर्माणको डीपीआर, भूमिगत पानीको संभाब्यता अध्ययन, नगरको सडक गुरुयोजना निर्माण, राजारानी आरुवोटे सडकको डीपीआर निर्माण, मुर्चुंगी खोलामा पुलनिर्माण, पर्यटन गुरुयोजना निर्माण, आयश्रोत अतिकम भएका सामुदायिक वनहरुको पहिचान गरी उनीहरुको क्षमता बढाउन अनुदान दिने, वडा ५ र ६ को प्रशासनिक भवन निर्माणको थालनी, कोल्डस्टोर को बाँकी काम पुरा गर्न पुनप्रक्रिया अगाडि बढाउने, अन्तर साँस्कृतिक संग्राहलयको काम सुरु गर्ने र चिसाङ खोलामा पूर्वतर्फको घाट सञ्चालनमा ल्याउने रहेका छन ।

अवरोध भएका काममा आइसब्रेक
लेटाङ नगरपालिकाले निकै लामो समयदेखि अलपत्र अवस्थामा रहेका केहि महत्वपूर्ण र ठूला योजनाहरु अघि बढाइएको जनाएको छ । संघ र प्रदेश सरकारको लागतमा सञ्चालनमा रहेका योजनाहरुको अवरोध हटाएर काम सुचारु गरिएको नगरपालिकाले जनाएको छ । जसमा मदनमार्गको बजार खण्ड, पथरी जाँते ज्यामिरे खण्डको रोकिएको बाटो निर्माण, कालेबुदुली सडक निर्माण सुरु, किराँत चौक राजारानी सडक निर्माण सुरु र लेटाङ २ मा विद्युत सबस्टेशन निर्माण सूचारु रहेका छन ।

चार वटा ऐन संशोधन विधेयक पारित
लेटाङ नगरपालिकाको १४ औं नगरसभाले विभिन्न ४ वटा विधेयक पारित गरेको छ । वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८ संशोधन गर्न बनेको विधेयक २०८०, लेटाङ नगरपालिका संस्था दर्ता ऐन २०७८ संशोधन गर्न बनेको विधेयक २०८०, लेटाङ नगरपालिका सहकारी ऐन २०७६, लाई संशोधन गर्न बनेको विधेकय २०८० र लेटाङ नगरपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक २०८० नगरसभाले पारित गरेको हो । विधायन समिति सदस्य ओमप्रकाश विकले प्रस्तुत गर्नु भएको विधेयक सर्वसहमतिले पारित गरिएको हो ।

करिव साढे ३ करोड बजेट रकमान्तर
नगरसभाले करिव साढे ३ करोड बजेट रकमान्तर गरेको छ । नगरसभामा संशोधित बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख कृष्णकुमारी निरौलाले नगरस्तरिय योजना र वडा स्तरीय योजनाका गरि करिव साढे ३ करोड बजेटका योजना रकमान्तर गरिएको जानकारी दिइन् ।

गत असारमा सम्पन्न तेह्रौं नगरसभाले विभिन्न योजनामा छुट्याएर खर्च हुन नसकेको बजेटलाई चौधौं नगरसभाले अन्य विभिन्न योजनामा लगाएको उनीले जानकारी दिइन् । सेवा परामर्श, कर्मचारी तालिम खर्च, अन्तरधार्मिक शान्तिपार्क, समपुरक कोष, कोल्टस्टोर भवन निर्माण लगायतका योजाको रकम खर्च हुन नसकेपछि बजेट रकमान्तर गरिएको हो ।

सबै भन्दा ठूलो बजेट अन्तरधार्मिक शान्ति पार्कको रु १ करोड रकमान्तर गरिएको छ । विभिन्न १८ वटा योजनाको बजेट रकमान्तर गरि सडकको डीपीआर निर्माण, वसपार्कको डिपिआर निर्माण लागयतका विभिन्न ३५ वटा योजनामा छुट्याइएको छ । यसैगरि सबै वडाका वडा सिलङका बजेट पनि नगरसभाले रकमान्तर गरेको छ । सबैभन्दा बढी वडा नम्बर ३ को र सबैभन्दा कम वडा नम्बर ८ को बजेट रकमान्तर गरिएको छ ।

नगरसभा सदस्यहरुको धारणा
नगरसभा बैठकमा शुन्य समयमा बोल्दै नगरसभा सदस्यहरुले विभिन्न विषय उठान गरेका छन । वडा नम्बर १ का वडासदस्य चञ्चलाल मगरले किसे झरनाको विकास र झांक्री गुफाका लागि बजेट छुट्याउनु पर्ने माग गरे । यस्तै वडा नम्बर ४ का वडा सदस्य रंग राई, वडा नम्बर ९ का खेमराज ढकाल, वडा नम्बर ३ का नगेन्द्र पराजुली, वडा नम्बर ५ का राम बहादुर पौडेल, वडा नम्बर ८ का नवीन लिम्बु, वडा नम्बर ९ का कमला राई र वडा नम्बर ६ की वडा सदस्य श्यामकुमारी मगरले विभिन्न विषयमा धारणा राखिन । धारणा राखेको विषयलाई सम्बोधन गर्दै नगर प्रमुख लावतीले आगामी दिनमा प्राथमिकता दिएर अघि बढ्ने प्रतिवद्धता बताए ।

सम्बन्धित खवर