शनिबार, फाल्गुन २, २०८२

कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्वारा तीनजना स्रष्टा पुरस्कृत

५ फागुन, विराटनगर । कवि कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ ।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा उनीहरुलाई प्रतिष्ठानले नगदसहित सम्मान गरेको हो । कार्यक्रममा प्रतिष्ठानले वरिष्ठ कवि शैलेन्द्र साकार, गजलकार विवश बलिभद्र कोइराला र कवि उमेश लुइँटेललाई सम्मान गरेको हो ।

प्रतिष्ठानले साकारलाई २५ हजार, कोइरालालाई १५ हजार र लुइँटेललाई ११ हजार राशिले सम्मान गरेको थियो । उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्राध्यापक कविराज न्यौपाने र प्रतिष्ठानकी संरक्षक शोभा लामा बलले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा महानगरपालिका गम्भीर रहेको बताए । उनले कवि कृष्णभूषण बलले आफ्ना सिर्जनामार्फत लोकतन्त्र र विकेन्द्रिकरणका पक्षमा आवाज उठाएको उल्लेख गरे ।

सो अवसरमा प्राध्यापक कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष प्राध्यापक डाक्टर टंक न्यौपाने, उपाध्यक्ष केशव आचार्य, महासचिव विवश पोखरेल, वरिष्ठ कवि जसराज किरातीलगायतले नेपाली कविता साहित्यमा कृष्णभूषण बलको योगदान अतुलनीय रहेको चर्चा गरे । सो अवसरमा विभिन्न कविहरुले कृष्णभूषण बलका कविता वाचन भएको थियो । भोलि बास्ने बिहान कवितासंग्रहका लेखक बलका विभिन्न कविता विश्वविद्यालयका पाठ्यक्रममा समेत समावेश गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.