सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधिलाई नगरवासीको प्रश्नै प्रश्न

१२ फागुन, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधिलाई नगरवासीहरुले प्रश्नै प्रश्न गरेका छन् ।

शुक्रबार वडा नं.—९ स्थित शनिश्चरे बजारमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय सरकारको काम र जनप्रतिनिधिहरुको कार्यशैलीको बारेमा उपस्थित नगरवासीहरुले प्रश्न उठाएको हो ।

कार्यक्रममा खानेपानी, सिंचाई, सडक निर्माण, विद्युत, सरसफाई, महिला, बालबालिका र जेष्ठ नागरिकको हक र अधिकारको लागि खुलेर सवालहरू उठाएका थिए । आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, लालपुर्जा वितरण, कम बजेट विनियोजन जस्ता विविध सवालहरूमा जनप्रतिनिधिको सकरात्मक र महत्वपूर्ण भूमिका निर्वाह गर्न समेत उनीहरुले सुझाव दिएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत शशी राईले यो आर्थिक बर्षको कुल ८२ करोड ३४ लाख बजेटमा चालुतर्फ ६४ प्रतिशत र पुँजीगततर्फ ३६ प्रतिशत बिनियोजन भएकोमा साधरण (चालु) तर्फको ३४ र पुँजिगततर्फ २९ प्रतिशत खर्च भइसकेको तथ्याङ्क प्रस्तुत गरेका थिए । नगरको २५७ वटा योजना मध्ये अधिकांश तिब्र गतिमा निर्माण भइरहेको विवरण पेश गरेका थिए ।

वडा नं. ९ की अमृतामाया तामाङले प्रदेशबाट मगरटोलको लागि आएको खोला तटबन्धनको बजेट अर्कै स्थानमा लगेर मगरटोलको नभएर अर्कै स्थानको उपभोक्ता समितिले काम सम्पन्न गरेको बिषयमा गुनासो गरेका थिए ।

सो बिषयको जवाफ दिने क्रममा नगर प्रमुख मोहन तुम्बापोले प्रदेशको बजेटबाट हुने निर्माणको बारे नगरमा सल्लाह नलिने मात्र नभएर जानकारीसम्म नदिने गरेको बताएका थिए । नगर प्रमुख तुम्बापोले रातो किताबमा नदेखिएको बजेटहरु समेत ल्याएर काम सम्पन्न गरिसक्दासम्म नगरलाई जानकारी नदिने गरेको बताएका थिए ।

कार्यक्रममा नगरको ४ नं. वडाका पूर्ब अध्यक्ष गोबिन्द भण्डारीले धुलाम्य सडकहरुलाई कालोपत्रे गरेर नगरलाई स्मार्ट नगरको रुपमा बिकास गर्नुपर्ने सुझाव दिएका थिए । पथरीशनिश्चरेलाई औद्योगिक सहर बन्छ बन्दैन, खेर गइरहेको युवा शक्तिलाई उत्पादनमा लगाउने योजना के छ भनेर ओम पौडेलले प्रश्न राखेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा कृष्णकुमारी बिक, चन्द्रकान्त भट्टराई, ओम पौडेल लगायतले प्रश्न तथा सुझाबहरु पेस गरेका थिए ।
उठेका प्रश्नहरुको नगर प्रमुख मोहन तुम्बापो, प्रमुख प्रशाकीय अधिकृत शशि राई, ४ नम्वर वडा अध्यक्ष लोककिरण न्यौपाने लगायतले जवाफ दिएका थिए ।

कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष नवीन कार्की, वडा नं ४ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, वडा नं ७ का वडा अध्यक्ष उद्ववराज बस्नेत, ३ का अध्यक्ष विजय लिम्बु, वडा नं. ५ का चेतेन्द्र खड्का, शाखा शाखा प्रमुख पिताम्बर वस्ति, स्वास्थ्य बिभाग प्रमुख मुरारी आचार्य, योजना शाखा प्रमुख शिवकुमार राई र लुकनाथ पोख्रेल लगायतको उपस्थिति रहेका थिए ।

पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको कानेपोखरी मिडिया प्रा.लि.ले सहजिकरण गरेका थिए । कार्यक्रम बाबुराम निरौलाले सञ्चालन गरेका थिए ।

 

सम्बन्धित खवर