बुधबार, मंसिर १०, २०८२

हरियाली वनले निर्माण गरेको ‘स्वीमिङ पुल’ जेठ २५ गते उद्घाटन हुर्दै

२० जेठ, पथरी । गर्मीबाट शीतलता पाउन स्वीमिङ गर्न कहाँ जाने भनेर सोच्दै हुनुहुन्छ भने हरियाली सामुदायिक वनले निर्माण गरेको स्वीमिङ पुल रोजाई बन्न सक्छ । मोरङको पथरीशनिश्चरे २ मा रहेको हरियाली सामुदायिक वनले गर्मी छल्नको लागि स्वीमिङ पुल (पौडी पोखरी) सञ्चालनमा ल्याउने भएको छ ।

हरियाली सामुदायिक वनले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्वीमिङ पुल जेठ २५ गते उद्घाटन गर्ने तयारी रहेको जानकारी गराए । स्वच्छ, सफा पोखरीमा सस्तो र सुरक्षित रुपमा स्वीमिङ (पौडी) खेल्न पाइने बताइएको छ ।

सुविधा सम्पन्न व्यवस्थित स्वीमिङ पुलमा बाल र वयस्क गरी २ वटा पौडी पोखरीे, चेन्जिङ रुम, शौचालय, चमेना गृह, टिकट काउण्टर, सवारी साधन पार्क लगायत निर्माण सम्पन्न भएको वन समूहका अध्यक्ष काबुल बहादुर मगर(विकास) ले बताए ।

स्वीमिङ गर्न चाहनेहरुका लागि वयस्कका लागि २ सय र बालबालिकाको लागि १ सय प्रतिव्यक्ति शुल्क निर्धारण गरिएको छ । निर्धारित शुल्कमा हरियाली सामुदायिक वन र शेयर सदस्यहरुलाई २५ प्रतिशत छुट गर्ने कम्पनीको अध्यक्ष दिलबहादुर तामाङले बताए ।

पोखरीमा स्वीमिङ कष्टम, रिङटप, लाइभ ज्याकेट, लाइभ गार्ड रहेकोले पूर्ण सुरक्षा रहने जनाइएको छ । तुलनात्मक हिसावले अन्य पोखरीहरुमा भन्दा शुल्क शुलभ रहेको छ ।

हरियालीले प्याकेजमा खैल्नेहरुका लागि मासिक, त्रैमासिक, अर्ध बार्षिक र बार्षिक रुपमा छुटमा कार्ड वितरण गर्ने वन समूहका अध्यक्ष मगरले बताए । पत्रकार सम्मेलनपछि सञ्चार कर्मी र समूहका पदाधिकारी तयारी पोखरीमा परीक्षणको लागि पौडी खेलेका थिए ।

पौडी पोखरी ३ करोड ५५ लाखमा निर्माण सम्पन्न भएको समूहले जनाएको छ । हरियालीमा विवाह, पार्टी, भोज, सांगीतिक, सांस्कृतिक कार्यक्रमको लागि एसी सहितको सभा हल चालु अवस्थामा रहेको छ । पर्यटन विकासको लागि सामुदायिक वनको कार्य योजना र डीपीआर अनुसारको ३ वटा पोखरी निर्माण भइरहेको छ ।

सामुदायिक वन भित्र नेपालको आकारको बोटिङ पोखरी, गेष्ट हाउस सहितको रेष्टुरेन्ट, बाल उद्यम, विज्ञान प्रदर्शनी, यलम्बरको मूर्ति लगायत खुल्ला संग्रहलय, वन भोज स्थल, कार्यक्रम हल लगायतको डीपीआर निर्माण गरेर भौतिक संरचना निर्माण भइरहेको छ । कम्पनीमा हाल ८६१ जना शेयर सदस्य रहेको र पथरीशनिश्चरे नगरको लागि मात्र इच्छुकहरु नागरिकका लागि शेयर खुल्ला गरिएको जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.