८ साउन, पथरी । कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या सम्बन्धि निकास दिन पथरी शनिश्चरे नगरपालिकाले दलहरुसँग छलफल अघि बढाएको छ ।
मंगलबार नगरपालिकामा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा वृह्रद छलफल भएको हो । छलफल कार्यक्रममा समस्या समाधानका बारेमा जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरु उपस्थित रहेको थियो ।
छलफल कार्यक्रमको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, कोशी टप्पु जग्गा सट्टाभर्ना उस समितिका संयोजक मधु सुदन अधिकारी, सदस्य सचिव कृष्णप्रसाद सापकोटा, सदस्य लालबहादु सुस्लिङले समितिले गर्ने कार्यहरुका बारेमा प्रष्टयाएका थिए ।
यसैगरी वडा नं. ८ का वडाअध्यक्ष नविन कार्की, वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राई र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले आ–आफ्ना कुरा राखेका थिए । नगर प्रमुख मोहन प्रसाद तुम्वापोले समस्या समाधन गर्न जनप्रतिनिधिले मात्र सम्भव नहुने र यसको समाधानका लागि सबै लागिपर्नुपर्ने बताएका थिए ।
छलफलले नगरपालिका क्षेत्रमा रहेको कोशी टप्पु जग्गा सट्टा भर्ना समस्या सम्वन्धमा बसोबासी तथा जग्गा धनी दुवै पक्षको समुचित व्यवस्थापन एवं र्दीघकालीन समस्या समाधानका लागि आवश्यकता अनुसार समितिका पदाधिकारी तथा सम्वन्धित कार्यालयका कर्मचारीहरुलाई स्थलगत भ्रमण, जग्गाको रेखाङ्कन। नापजाँच गर्न प्रतिनिधि, राजनैतिक दलका स्थानीय प्रतिनिधिहरुले आवश्यक सहयोग तथा समन्वय गर्ने निर्णय भएको छ ।