२४ असोज, पथरी । मोरङको पथरीशनिश्चरे–२ मा रहेको हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो साधारणसभाले सवा १३ लाख घाटा भएको प्रतिवेदन प्रस्तुत गरेको छ ।
बुधबार भएको साधारणसभामा कम्पनीका अध्यक्ष दिलबहादुर तामाङले १ वर्षमा १३ लाख ३६ हजार ९ सय ८५ रुपैया घाटा भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा आय तर्फ पौडी पोखरीबाट ५ लाख ६ हजार १ सय ५० रकम संकलन, हलभाडा वापत बर्षमा ३ लाख १९ हजार, व्याज आम्दानी ५८ हजार ३ सय ४२ लगायत गरेर बर्षभरीमा ९ लाख ८ हजार ९ सय ९२ रुपैयाँ आम्दानी गरेको देखिन्छ ।
त्यस्तै खर्चतर्फ कर्मचारी तलव २ लाख २७ हजार ८ सय, कम्पनी अद्यावधिक खर्च २ लाख ९७ हजार ७ सय ६०, पोखरीमा केमिकल खरिदमा १ लाख १८ हजार १ सय ५५, विद्युत महसुल खर्च २ लाख ३३ हजार ९ सय ५०, प्राविधिक खर्च १ लाख ६९ हजार ३ तीन सय २५ रुपैया लगायत गरेर २२ लाख ४५ हजार ९ सय ७७ भएको प्रतिवेदनमा उल्लेख छ ।
आय र व्यय हिसाव गर्दा एक आर्थिक वर्षमा १३ लाख ३६ हजार ९ सय ८५ रुपैया घाटा भएको तथ्याङक प्रतिवेदनमा उल्लेख छ ।
वनका उपभोक्ताहरुलाई मुख्य आधार बनाएर सञ्चालित कम्पनीले गत जेठ २५ गतेबाट पौडी पोखरी (स्वीमिङ पुल) सञ्चालनमा ल्याएको छ । पौडीबाट चार महिनामा मासिक सरदर १ लाख २५ हजारभन्दा बढीको दरले रकम संकलन भएको प्रतिवेदनमा उल्लेख छ ।
कम्पनीमा ८ सय ९६ जना शेयर सदस्यहरुबाट ४८ लाख ९९ हजार ७ सय रुपैयाँ संकलन भएको उल्लेख छ ।
संकलित र अन्य रकमबाट निर्माण भएर पौडी पोखरी सञ्चालनमा आएको छ भने किचन, कार्यालय लगायत निर्माण भएको छ । हरियाली सामुदायिक वनले शेयर स्वरुप एसी जडित भवन (हल) कम्पनीले हिसाव राख्नेगरी सञ्चालन गर्न दिएको वा हस्तान्तरण गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि पूर्व खेलकुद तथा युवा मन्त्री डिगबहादुर लिम्बूले कम्पनीले आगामी दिनमा घाटा होइन नाफा गर्नेमा आफू ढुक्क रहेको बताए । कम्पनी नाफा बनाउन विभिन्न उपायहरु अपनाउनु पर्ने उनको भनाई थियो । हरियाली सामुदायिक वन उपाभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगरले कम्पनीले आगामी वर्षदेखि नाफामा जाने बताए ।
कार्यक्रममा उद्योगी भोलेश्वर दुलाल, कम्पनीको पूर्व सञ्चालक गणेश बाछना लगायतले शुभकामना दिएका थिए । पथरी शनिश्चरे ७ का वडाध्यक्ष उद्घवराज बस्नेत, वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बु, इलाका प्रहरी कार्यालय लगायतबाट सहभागी रहेका थिए । कार्यक्रम कम्पनीका प्रबन्धक रोहित बास्तोलाले सञ्चालन गरेका थिए ।