१४ कार्तिक, विराटनगर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मोरङको विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अनियमितता गर्ने जो कोही नेताहरूले सजाय भोग्नुपर्ने बताएका छन् ।
बुधबार भएको कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको घटनालाई मात्र नभई सबै नेताहरूले आफ्नो कार्यको जिम्मेवारी लिनुपर्ने र कानुनी कारबाहीको सामना गर्नुपर्ने बताएका छन् । पोखरेलले सुशासन र पारदर्शिताको महत्वलाई जोड दिँदै पार्टीका सबै सदस्यहरूलाई इमानदारीपूर्वक कार्य गर्न आग्रह गरेका छन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले हालै भएको एमालेको पार्टी कार्यालय उद्घाटनको विषय, अदालतमा चलिरहेको मुद्दा, लोकतन्त्रमा एमाले र कांग्रेसको देन, तथा पार्टीको वर्तमान भूमिका बारे चर्चा गरेका थिए ।
उद्घाटन समारोहमा नेता पोखरेलले लोकतन्त्रको स्थापनाका लागि एमालेले खेलेको महत्त्वपूर्ण भूमिकालाई स्मरण गरेका छन् । उनले भने कि एमालेले लामो संघर्ष र त्यागबाट लोकतन्त्रलाई संस्थागत गर्न प्रयासरत रहेको छ । यसै क्रममा, कांग्रेसले पनि लोकतन्त्रलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको उनले स्वीकार गरेका छन् ।
अदालतमा चलिरहेका मुद्दाका सन्दर्भमा पोखरेलले कानूनी प्रक्रियामा सम्पूर्ण विश्वास रहेको र कुनै प्रकारको अन्याय वा असमानता नहुने आशा व्यक्त गरेका छन् । साथै, उनले लोकतन्त्रलाई अझै बलियो बनाउन दलहरूको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका छन् ।
सो अवसरमा पार्टीका उपाध्यक्ष गुरुप्रसाद बराल, कोशी प्रदेश इन्चार्ज शेरधन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । पार्टी सचिव रविन थापाको सञ्चालनमा सम्पन्न सो कार्यक्रम पार्टी अध्यक्ष बाबुराम कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसरमा मोरङ जिल्लाका अगुवा पार्टी कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियोे ।