१६ फागुन, कानेपोखरी । नेपाल माझी उत्थान संघ गाउँ कार्य समिति कानेपोखरीले यस वर्षको लदि पूजा (कोशी पूजा) स्थानीय नदीमै मनाउने भएको छ ।
माझी उत्थान संघले पत्रकार सम्मेलनको आयोजना गर्दै लदि पूजा(कोशी पूजा) कारीकोशी खोलामा मनाउने जानकारी दिएको हो । वडा नं. ५ स्थित कारीकोशी नदीमा फागुन महिनाको तेस्रो मंगलबार(साइली मगलबार) २० गते भव्यरुपमा मनाउन लागेको नेपाल माझी उत्थान संघ गाउँ कार्य समिति कानेपोखरी अध्यक्ष साउनी माझीले बताइन् ।
संघका अध्यक्ष साउनी माझीका अनुसार, विगतमा कानेपोखरी गाउँपालिकाका माझी समुदायले टाढा कोशी नदीमा गएर पूजाआजा गर्दै आएका थिए । यस वर्षदेखि टाढा नजाने र यहाँको स्थानीय नदीमा लदी पूजा गर्ने निर्णय गरिएको छ । उनले भने–टाढा जाँदा समय बढी लाग्ने र खर्च पनि धेरै हुने भएकाले यो निर्णय गरिएको हो ।
संघका सचिव मनोज माझीले आफ्नै पालिका भित्र पूजा गर्दा सबै माझी समुदायको सहभागिता बढ्ने र स्थानीय सरकारले पनि नजिकबाट अवलोकन गर्न सक्ने बताए । उनले कानेपोखरी गाउँपालिकाको ७ वटै वडामा माझी समुदायको बसोबास रहेको र पालिकामा लगभग १२ सय जनाको हाराहारीमा माझी समुदायको बसोबास रहेको जानकारी दिए ।
लदि पूजा माझी जातिको परम्परागत पर्व हो, जुन लोप हुने खतरामा रहेको छ । जलको पूजा गर्ने चलन माझी समुदायमा वषौँदेखि चलिआएको छ । माझी समुदायमा डुंगामा बस्नु अगाडि वा माछा मार्ने जाल लिएर जलाशयमा पस्नु अघि जल देवताको सम्झना गर्ने परम्परा छ । लदि पूजालाई यसै चलनको संस्थागत अभ्यास र उच्चतम विश्वासको प्रतिरूपका रूपमा लिइन्छ ।
नेपाल माझी उत्थान संघले सम्पूर्ण माझी समुदाय र अन्य इच्छुक व्यक्तिहरूलाई यस सांस्कृतिक महत्वपूर्ण पर्वमा सहभागी हुन आमन्त्रण गरेको छ ।
पूजाको दिन माझी जातीको विभिन्न खानाको परिकारहरु बनाई आमन्त्रित पाहुनाहरुलाई खुवाइने जनाएको छ । सोदिन कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी र ७ वटै वडाका वडाध्यक्षहरु साथै विभिन्न जातिय संस्था र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई पनि निमन्त्रणा गर्ने तयारी रहेको संघका सचिव मनोज माझीले बताए ।
पत्रकार सम्मेलनमा नेपाल माझी उत्थान संघका सल्लाहकार भोजवीर माझीले माझी जातीको लदि पूजाको बारेमा जानकारी राएका थिए ।