२० वैशाख, विराटनगर । सक्रिय पत्रकार एवं सूचनाको हकका अभियन्ताहरु विराटनगरका किशोर बुढाथोकी र झापाका सुरेन्द्र भण्डारी शनिबार विराटनगरमा पुरस्कृत भएका छन् ।
मुलुकी खबर अनलाइनका सम्पादक एवं अन्नपूर्ण पोस्टका कोशी प्रदेश ब्युरो प्रमुख बुढाथोकीलाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार, २०८१ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गरेको पुरस्कारको राशि १ लाख १ सय रूपैयाँ छ ।
साथै, षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार भण्डारीलाई प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि २५ हजार २५ रूपैयाँ रहेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले शनिबार कोशी प्रदेशको राजधानी विराटनगरमा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण तथा अग्रज पत्रकार सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुरस्कार हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्की र मेयर कोइरालाले सूचनाको हकको प्रवर्धन एवं प्रभावकारी कार्यान्वयनका लागि आफूहरु प्रतिबद्ध रहेको बताए ।
उक्त पुरस्कार सूचनाको हकको क्षेत्रमा क्रियाशील रहेर नीति निर्माण, सुशासन एवं पारदर्शिताको पक्षमा काम गर्ने, सूचनाको हकको प्रवर्धन, नागरिक जागरण र प्रचारप्रसारमा सक्रिय व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । प्रत्येक वर्ष नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरिँदै आएको थियो ।
महासंघ मोरङ अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण एवं अग्रज पत्रकार सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पूर्वअध्यक्षहरु विक्रम लुइँटेल, लीलाबल्लभ घिमिरे, पत्रकार महासंघका प्रदेश अध्यक्ष भरत खड्का, महासंघका केन्द्रीय सदस्य कमल रिमाललगायतले मन्तव्य राखेका थिए । पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष एवं अग्रज पत्रकार यज्ञ शर्माले पुरस्कृत हुनेहरुको पृष्ठभूमिका बारेमा जानकारी गराएका थिए । उक्त अवसरमा शर्मालाई सम्मानसमेत गरिएको थियो ।