२६ वैशाख, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले विपन्नहरुको तीन वटा घर निर्माण गरी हस्तान्तरण गरेको छ ।
नगरपालिकाद्वारा आर्थिक विपन्नको घर निर्माणको लागि विनियोजित बजेटबाट आवास निर्माण कार्य पूरा भएका घरहरु हस्तान्तरण गरेको हो ।
नगर उप–प्रमुख देविमाया काफ्लेको उपस्थितमा वडा नं. ७ का टिकादत्त लिम्बु, वडा नं. ४ को फुलमाया गिरी र वडा नं. ८ को बिबिमाया विश्वकर्मालाई नवनिर्मित घर हस्तान्तरण गरिएको थियो । नगर उप–प्रमुख काफ्लेले हालसम्म १४ वटा घरहरु हस्तान्तरण गरिसकिएको बताइन् ।
‘नगरपालिकाको सहयोग र भर, घरविहिनलाई सुरक्षित घर’ भन्ने मूल नारा सहित नगरपालिकाले विपन्न वर्गहरुको घर निर्माण गरी हस्तान्तरण गर्दै आएको छ ।
कार्यक्रममा नगरपालिकाका योजना शाखा प्रमुख शिवकुमार राई, वडा नं.७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नं.४ का वडाध्यक्ष लोककिरण न्यौपाने, कार्यपालिका सदस्य एवं वडा नं. ४ का वडा सदस्य कल्पना श्रेष्ठ, पदम धिमाल, नगरका कर्मचारी तायाहाङ राई र सव–इन्जिनियर रन्जित राजवंशी लगायतको उपस्थिति रहेको थियो ।