३ जेठ, विराटनगर । प्रेस चौतारी मोरङको आयोजनामा तीनदिने डिजिटल मिडिया र एआई तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा जेठ १ गतेदेखि ३ गतेसम्म बिराटनगरमा सञ्चालन भएको तालिममा जिल्लाका पत्रकार तथा संचारकर्मीको उपस्थितिमा सम्पन्न भएको हो ।
तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले पत्रकारले आफ्नो क्षमता विकाससँगै सञ्चारकर्मीहरूलाई आवश्यक ज्ञान र सीप प्रदान गर्न यस्तो तालिम समय सान्दर्भिक र आवश्यक रहेको बताइन ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सुमन सुस्केराले बदलिंदो सञ्चार परिवेशमा पत्रकारिताको शैली पनि परिवर्तन भइरहेकाले नयाँ चुनौतीहरूसँग जुध्न सक्ने क्षमता पत्रकारमा हुनुपर्ने बताए ।
त्यस्तै, प्रेस चौतारी नेपाल कोशी प्रदेश अध्यक्ष सुमन पुरी, प्रेस चौतारी मोरङका संस्थापक अध्यक्ष दिपेन न्यौपाने, सञ्चारिका समूह कोशी महासचिव जुनु भट्टराई लगायतले तालिमको आवश्यकता र प्रभावबारे आआफ्नो धारणा राखेका थिए ।
प्रशिक्षार्थी रेजिना भट्टराईले एआईसम्बन्धी विषयवस्तुहरू जीवन र पेशासँग प्रत्यक्ष रूपमा जोडिएको अनुभव सुनाइन । अर्का प्रशिक्षार्थी तेजेन्द्र भण्डारीले डिजिटल मिडियासम्बन्धी सिकाइहरू, फोटो, भिडियो तथा समाचार निर्माण सीप, अत्यन्तै उपयोगी र व्यावहारिक भएको बताए ।
कार्यक्रमको अध्यक्षता प्रेस चौतारी मोरङका अध्यक्ष चिना थापाले गरेकी थिइन । उनले तालिममार्फत पत्रकारहरूलाई डिजिटल प्लेटफर्म र नयाँ प्रविधिमा अपडेट गराउने लक्ष्य अनुसारको तालिम दीएको बताइन ।