पथरी शनिश्चरेको पाँचतले प्रशासनिक भवनको शिलान्यास

५ जेठ, पथरी । मोरङको पथरी शनिश्चरे–१० स्थित शिविर डाँडामा नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।

नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख मोहनप्रसाद तुम्वापो साथै उप–प्रमुख देविमाया काफ्लेले संयुक्त रुपमा भवनको शिलान्यास गरेको हो । कार्यक्रममा नगर प्रमुख तुम्वापोले प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा धेरै समस्या भइरहेको र नयाँ भवनको निर्माण सम्पन्न पछि सेवा प्रवाहमा थप सहजता हुने बताए ।

प्रशासनिक भवन पाँचतलाको र क्षेत्रफल ९ हजार २ सय ५२ स्क्वर फुट रहने छ । भवन अपाङ्गमैत्री, जेष्ठ नागरिकमैत्री र बालबालिकामैत्री भवन निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत शशी राईले बताए । भवनको लागत ठेक्का आह्वान (बोलपत्र आह्वान) पश्चात भ्याट र पिएस सहित ११ करोड ८ लाख २५ हजार ७ सय १८ रुपैयाँ लागतमा निर्माण गर्न लागिएको अधिकृत शशि राईले जानकारी दिए ।

कार्यक्रममा वडा अध्यक्ष जीवन खतिवडा, पूर्व गाविस अध्यक्ष मोहन कुमार न्यौपाने, पूर्व नगर प्रमुख दिलिप कुमार राई, संविधानसभा सदस्यद्वय चण्डीप्रसाद राई र लालबहादुर सुस्लिङ मगर, राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसबाट कुलबहादुर गुरुङले मन्तव्य राखेका थिए ।

भवन शिलान्यास कार्यक्रममा वडा अध्यक्षहरू भीम राई, नविन कार्की, लोककिरण न्यौपाने, कृष्णबहादुर बस्नेत, वीरबहादुर राई, विजय लिम्बु, कार्यपालिका सदस्यहरु, नगरका शाखा प्रमुखहरु, पूर्व जनप्रतिनिधिहरु, नगरका राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर