बिहिबार, मंसिर ४, २०८२

कानेपोखरी गाउँपालिकामा ५ करोड २ लाख बराबरको क्षति

३ असोज, मोरङ । भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनको क्रममा कानेपोखरी गाउँपालिकामा ५ करोड १ लाख ८२ हजार ८ सय बराबरको क्षति भएको छ ।

विहिबार गाउँपालिकाको प्राङ्गणमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला व्यक्ति, जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थित रहेको एक कार्यक्रममा सो बराबरको क्षति भएको विवरण सार्वजनिक गरिएको थियो ।

पालिकाका भौतिक र विभिन्न सामाग्री क्षति भएको प्रारम्भिक प्रतिवेदन प्रमुख प्रशासकिय अधिकृत हिराकुमारी यादवले प्रस्तुत गरेकी थिइन् ।
पालिका र वडामा ३ करोड ६१ लाख ६८ हजार ७ सय ३६ रुपैया बराबरको फनिचर, इलेक्ट्रोनिक्स सामाग्री जलेर नष्ट भएको छ ।

त्यस्तै ३३ लाख ८९ हजार १ सय २३ रुपैया बराबरको विभिन्न कार्यालयमा रहेको फोटोकपी पेपर, लेटरप्याड, कार्टेज, रेकर्ड फाइल, इन्डेक्स फाइल, कार्पेट, ग्यास सिलिण्डर, कृषि तथा पशु सेवा सँग सम्बन्धित सामाग्री जलेर नष्ट भएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखामा रहेको औषधि तथा सर्जिकल सामाग्रीहरु १४ लाख बराबरको जलेर नष्ट भएको छ ।

वडा नं. ६ को रमाइलोमा रहेको पुरानो पालिकाको भवन, वडा नं. ५ को वडा कार्यालयमा गाउँ कार्यपालिकाले कार्य गरिरहेको भवन, वडा नं. ६ को वडा कार्यालय भवन, वडा नं. ७ को वडा कार्यालय भवन, वडा नं. २ को वडा कार्यालय भवन र वडा नं. ३ को वडा कार्यालय भवन जलेर नष्ट भएको छ । त्यस भवनहरुको प्रारम्भिक क्षति भने ९२ लाख २४ हजार ९७१ भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका को १ झ ५५७ नम्बर, बा १ झा ८४८३ नम्बरको गाडी, गाडी नंं प्र १०४००१ झ ००३२ शव वहान बुलेरो र सूचना एम्बुलेन्स जलाएर नष्ट गरिदिएका थिए ।

गाउँपालिका अध्यक्ष राजमती इङ्नामको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी, वडा नं. २ वडा अध्यक्ष तथा प्रवक्ता सुशिल बुढाथोकी, नेपाली कांग्रेसबाट योगेन्द्र दाहाल, एमालेबाट भुपाल श्रेष्ठ, माओवादी केन्द्रबाट दुर्गा बहादुर कार्की, रास्वपाबाट सुनिलदत अधिकारीले आफ्ना कुरा राखेका थिए ।

सबै राजनीतिक दलका प्रतिनिधिहरुले जेनजी आन्दोलनको नाममा पालिका, वडामा आगो लगाउने, आगो लगाउन उनिहरुलाई उस्काउने सबैलाई कारबाही गर्नुपर्ने माग राखेका थिए । वक्ताहरुले आफ्नो आगो लगाउने र उस्काउने आफ्नो पार्टीको कार्यकर्ता पहिचान भए तुरुन्त कारबाही गर्ने प्रतिवद्धता गरे । कार्यक्रम संचालन प्रशासन प्रमुख मचिन्द्र थलङले गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.