२५ असोज, मोरङ । कानेपोखरी– ७ स्थित आइतबारेमा रहेको ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २५ औं वार्षिक साधारणसभामा ९० लाख बराबराको आयव्यय प्रस्तुत गरेका छन् ।
शुक्रबार आइतबारेको गुम्बामा भएको साधारणसभामा वनका कोषाध्यक्ष गीता देवी बस्नेतले आर्थिक वर्ष २०८१/८२ को कुल ८९ लाख ९२ हजार ६ सय ८५ रुपैयाँ आयव्यय प्रस्तुत गरेकी थिइन । समितिको कार्य प्रगति विवरण अध्यक्ष देवेन्द्र थापाले भावी रणनीति र चालू आर्थिक वर्ष ०८२/८३ को अनुमानित आम्दानी ९१ लाख ४ हजार ५० रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।
सामुदायिक वनले ०८१÷८२ मा विपन्नमुखी कार्यक्रम अन्तर्गत ३३ जना उपभोक्ताहरुलाई हार्पिक फिनेल झोल साबुन र नुहाउने साबुन बनाउने तालिम सञ्चालन गरिएको, समुहको खाली १ हेक्टर जमिनमा वृक्षरोपण गरिएको, पुरानो दायित्व हिसबमा रहेको ३५ प्रतिशत ऋण भार मध्ये रु १५ लाख ६१ हजार २ सय ३७ रुपैयाँ तिरिएको लगायतको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
आगामी कार्ययोजनाहरुमा वन क्षेत्र भित्र जडिबुटी औषधिजन्य बिरुवा लगाउन तयारी गर्ने, सिमसार क्षेत्र भलुवा, कानेपोखरीमा स्थानीय जातका माछा पालन गर्ने, कानेपोखरी ७ चालीस बिघे कमल जोगीको घर उत्तरमा रहेको जामुन जातको रुख हटाउने सम्बन्धित निकायमा प्रस्ताप गर्ने र निरन्तर वन संरक्षण, वन विकास र वन सम्बद्र्धन कार्यलाई निरन्तरता दिने लगायतका विषयहरुको प्रतिवेदन वनका अध्यक्ष देवेन्द्र थापाले प्रस्तु गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमती इङ्नामले वनले विकासका पुर्वाधार निर्माण शिक्षा, स्वास्थ्य लगायतका काम पनि गर्न सक्ने हुनाले चोरी शिकारी नियन्त्रण गर्दै वन संरक्षण गर्नुपर्नेमा उनले जोड दिइन ।
कार्यक्रममा पालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी विशिष्ट अतिथि, वडा अध्यक्ष मोहन प्रसाद अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, विभिन्न संस्थाका प्रतिनिधिहरु अतिथि रहेका थिए । कार्यक्रम संचालन वनका सचिव केदार राईले गरेका थिए ।