मङ्लबार, माघ २०, २०८२

मोरङ क्षेत्र नं. ३ मा निर्वाचन आचारसंहिता बारेमा पत्रकारसँग छलफल

११ माघ, कानेपोखरी । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.३ बेलबारीको निर्वाचन अधिकृतको कार्यालयले पत्रकारहरुसंग अन्तरक्रिया सम्पन्न गरेको छ ।

आईतबार निर्वाचन कार्यालय बेलबारीमा निर्वाचन अधिकृत रूद्र प्रसाद अर्यालले निर्वाचन सम्बन्धी आचारसंहिता तथा निर्वाचन सम्बन्धी गतिविधिको बारेमा छलफल गरिएको हो । कार्यक्रममा आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, स्वच्छ र पारदर्शी रूपमा सम्पन्न गराउने उद्देश्यले लागू हुने आचारसंहिता, मतदान प्रक्रिया, सुरक्षाका विषय र पत्रकारको भूमिकाबारे जानकारी गराइएको थियो ।

छलफलका क्रममा निर्वाचन अधिकृत अर्यालले मोरङ क्षेत्र नं. ३ मा कुल मतदाता संख्या १ लाख ५८ हजार ५७ जना रहेको जानकारी दिनुभयो । त्यसमध्ये पुरुष मतदाता ७७ हजार १ सय ७० जना, महिला मतदाता ८० हजार ८ सय ८३ जना र अन्य ४ जना रहेका छन् । यस क्षेत्रका लागि ५५ वटा मतदान स्थल र १७९ वटा मतदान केन्द्र रहेको बताउनुभयो । मोरङ क्षेत्र नं. ३ अन्तरगत ४ वटा पालिका अन्तरगत ३४ वटा वडाहरु रहेका छन् । सुन्दरहरैचा नगरपालिकाको वडा नं. १,८,९,१०, ११ र १२, बेलबारी नगरपालिकाको वडा नं. १,२,३,४,८ र ११, कानेपोखरी गाउँपालिकाको वडा नं. ७,६,५ र ४ र पथरी शनिश्चरे नगरपालिकाको १,२,३,४,७,८,९ र १० नम्बर वडाहरु रहेका छन् ।

मोरङ क्षेत्र नम्बर ३ मा १९ दल र दुईजना स्वतन्त्र सहित कुल २१ जनाले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिनुभएको थियो । जसमा तीनजनाले फिर्ता लिएर १८ जनाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुभएको छ ।

भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि राज्यका ४ वटै सुरक्षा अङ्गलाई निर्वाचन आयोगले परिचालन गरेको जनाउनुभयो । निर्वाचन सम्बन्धी नारा, जुलुस, आमसभा, जस्ता प्रचारप्रसार कार्यक्रमहरू निर्वाचन आयोगले १५ दिनअघि १५ दिनको लागि मात्रै प्रचार गर्न दिने र अघिल्ला चुनावहरू जस्तो लामो समयसम्म चुनाव, अनावश्यक खर्चलाई नियन्त्रण गर्ने प्रयास गरेको उल्लेख गर्नुभयो । निर्वाचन ताका सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुले पालना गर्नुपर्ने आचारसंहिता पनि उहाँले जानकारी दिनुभयो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.