मङ्लबार, माघ २०, २०८२

राष्ट्रिय सभामा कांग्रेस पहिलो, नेकपा दोस्रो

११ माघ, काठ्माडौं । राष्ट्रिय सभाको वर्तमान शक्ति सन्तुलन बदलिएको छ । नेपाली कांग्रेस दोस्रो शक्तिबाट पहिलोमा उक्लिएको छ भने पहिलो शक्ति रहेको नेपाली कम्युनिष्ट पार्टी आठ सिट गुमाउँदै दोस्रो शक्तिमा झरेको छ । तेस्रो शक्तिमा एमाले नै रहेको छ ।

राष्ट्रिय सभामा दुई वर्षका बीचमा एक तिहाई सदस्यको निर्वाचन हुनेगर्छ । रिक्त १९ पदमध्ये एक मनोनीत र एक निर्विरोध भएको १ बाहेक आइतबार १७ स्थानका लागि निर्वाचन भएको थियो । निर्वाचनमा कांग्रेस र एमाले गठबन्धनले एकलौटी जित निकालेका छन् ।

दुई दलको गठबन्धनमा कांग्रेसले ९, एमालेले ८ र जसपालाई १ सिट दिइएको थियो । दुई दलीय गठबन्धनले १७ वटै सिटमा जिते निकालेपछि कांग्रेस २५ सिटसहित राष्ट्रिय सभामा ठुलो शक्ति बनेको छ । यसपटकको निर्वाचनमा कांग्रेसको कुनै पनि सांसदको पद रिक्त भएको थिएन । हाल कायम रहेको १६ मा ९ सांसद थपिएका छन् ।

एमालेको १० मध्ये ८ जनाको पदावधि सकिएको थियो । पदावधि सकिनेमा इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बीसी रहेका थिए । एमालेबाट निर्वाचित हुने पनि ८ जना नै छन् । यस हिसाबले एमाले हाल कायम रहेकै १० सिट जोगाउन सफल भएको छ ।

तत्कालीन माओवादी केन्द्रको १७ र एकीकृत समाजवादीको ८ सहित दुई दल एकीकरणपछि बनेको नेकपाको कुल सांसद २५ रहेका थिए । त्यसमध्ये पदावधि सकिएका ८ जना नै उसले गुमाएको छ ।

नेकपाबाट गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेल्वासे, जगप्रसाद शर्मा, तामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसालको पदावधि सकिएको थियो ।

तत्कालीन जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबाट पदावधि सकिएका एक÷एक जना थिए । यी दुई दल पनि एकीकरण भइसकेको छ । एकीकृत जसपा, नेपालको राष्ट्रिय सभामा चार सांसद थिए । जसमा मृगेन्द्रकुमार सिंह र शेखरकुमार सिंहको पदावधि सकिएको छ ।

गठबन्धन गर्दा जसपाले एक सिट पाएको थियो । जसमा पार्टीको संरक्षक महन्थ ठाकुर निर्वाचित भएका छन् । कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति हुने वामदेव गौतमको पनि पदावधि सकिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.