
२१ माघ, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका सहकारी संस्थाका लागि एकदिने सहकारी शिक्षा तालिम सम्पन्न भएको छ ।
आज पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा सम्पन्न उक्त तालिममा नगर क्षेत्रभित्रका सहकारी संस्थाका शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न कार्यक्रम नगरपालिकाको सहकारी शाखाको आयोजनामा गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख तुम्वापो तथा आर्थिक विकास समितिका संयोजक उद्धवराज बस्नेतले सहकारीको भूमिका, आवश्यकता र दिगोपनाबारे आ–आफ्ना धारणा राख्नुभएको थियो । औपचारिक कार्यक्रमको सञ्चालन नगरपालिकाको सहकारी शाखा प्रमुख केशवदेवी धमलाले गर्नुभएको थियो ।
तालिमको सहजीकरण जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङका वरिष्ठ उपाध्यक्ष एकराज निरौलाले गर्नुभएको थियो । तालिममा सहकारीको सिद्धान्त, सुशासन, वित्तीय अनुशासन र शेयर सदस्यको भूमिकाबारे जानकारी दिइएको थियो ।



