मङ्लबार, बैशाख १५, २०८३

विद्यार्थी नभएपछि कानेपोखरीको दुई विद्यालय बन्द, तीन विद्यालयको कक्षा घटुवा

१५ वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले विद्यार्थी नभएका दुई विद्यालय बन्द गरेको छ ।
वडा नं. ४ को थानेश्वर आधारभूत र वडा नं. १ को सिद्धार्थ आधारभूत विद्यालय बन्द गरेको हो ।

थानेश्वर आधारभूतमा जम्मा ६ जना विद्यार्थी रहेका थिए । त्यसवर्ष बालविकास कक्षामा २ जना मात्र विद्यार्थी थिए । शिक्षक दरबन्दी १ जना र बालविकास कर्मचारी १ जना रहेका विद्यालयको शिक्षक र विद्यार्थीलाई नजिकैको विद्यालय जनता आधारभूत विद्यालय समायोजन गरिएको छ । यहाँ बालविकास सहित कक्षा १ देखि कक्षा ३ सम्म कक्षा सञ्चालन रहेको थियो ।

त्यस्तै २०४६ सालमा स्थापना भएको सिद्धार्थ आधारभूत विद्यालयमा जम्मा विद्यार्थीको संख्या ९ जना रहेको थियो । बालविकास सहित कक्षा १ देखि ५ सम्मम कक्षा संचालनमा रहेको थियो । शिक्षक दरबन्दी ३ जना बालविकास कर्मचारी २ जना रहेका थिए । शिक्षक र विद्यार्थीलाई श्री मावि होक्लाबारीमा समायोजन गरिएको छ ।

त्यस्तै वडा नं. ३ को लक्ष्मी आधारभूत विद्यालयको कक्षा ४ र ५ बन्द गरिएको छ । बालविकास सहित कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयका दुईवटा कक्षामा विद्यार्थीको संख्या ६ जना मात्र रहेकोले बन्द गरिएको सम्बन्धित निकायले जनाएको छ । विद्यालयमा शिक्षक दरबन्दी ३ जना र बालविकास कर्मचारी २ जना रहेका थिए । अहिले त्यसविद्यालयबाट १ जना दरबन्दी सहित ६ जना विद्यार्थी बाल माध्यामिक विद्यालयमा समायोजन गरिएको छ ।

त्यस्तै वडा नं. ४ कै २०४४ सालमा स्थापना भएको पञ्चकन्या आधारभूत विद्यालय पनि ४ र ५ बन्द गरिएको छ । बालविकास सहित कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयको ४ र ५ कक्षामा ९ जना मात्र विद्यार्थी रहेकोले बन्द गरिएको हो । विद्यालयमा शिक्षक दरबन्दी ३ जना र बालविकास कर्मचारी २ जना रहेका थिए । अहिले त्यस विद्यालयको १ जना दरबन्दी सहित ९ जना विद्यार्थी बाल माध्यामिक विद्यालयमा समायोजन गरिएको छ ।

त्यस्तै वडा नं. ७ को दहिधाप स्थित सुन्तोली आधारभूत विद्यालयको पनि ४ र ५ कक्षा बन्द गरिएको छ । बालविकास सहित कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयको ४ र ५ कक्षामा १० जना मात्र विद्यार्थी रहेकोले बन्द गरिएको हो । विद्यालयमा शिक्षक दरबन्दी ३ जना र बालविकास कर्मचारी २ जना रहेको थियो । अहिले त्यहाँको १ जना दरबन्दी सहित ९ जना विद्यार्थी बाल माध्यामिक विद्यालयमा समायोजन गरिएको छ ।

गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव, शिक्षा शाखा अधिकृत चुडामणी रेग्मी सहित शिक्षा समितिको मिति २०८२ जेठ १३ गते बसेको बैठकले विद्यालय समायोजन र एकीकरण गर्ने निर्णय गरेको थियो ।

समितिले सबै कक्षाहरुमा शैक्षिक सत्र २०८३ मा कम्तीमा १० जना विद्यार्थी अनिर्वाय पुर्याउनुपर्ने निर्णय गरेको छ ।
शैक्षिक सत्र २०८२ मा बालविकास सहित कक्षा १ देखी १० सम्म जनसेवा माविमा ७४३ जना, जनकल्याण माविमा ३६६ जना, बाल माविमा १८३ जना, श्रीमावि भौसाबारी २८६ जना, श्रीमावि होक्लाबारीमा ३५३ जना, शिक्षा सदन माविमा २८३ जना, शिक्षा विकास माविमा ४२५ जना, सिंहदेवी माविमा ४८९ जना छात्राछात्र रहेका थिए ।

त्यस्तै बालविकास सहित कक्षा १ देखी ८ सम्म जनता आधारभूतमा १८९ जना, बलदेव आधारभूतमा १२१ जना, जनमत स्वरस्वती आधारभूतमा ११२, पञ्चकन्या आधारभूतमा ७६ जना, प्रेम लक्ष्मी आधारभूतमा १११ जना छात्राछात्र अध्ययनरत रहेका थिए ।

त्यस्तै बालविकास सहित कक्षा १ देखी ५ सम्मका विद्यालयहरु जनता आधारभूतमा ७९ जना, सरस्वती आधारभूतमा १६२ जना, सूर्योदय आधारभूतमा ५१ जना विद्यार्थी अध्ययनरत थिए । बालविकास सहित कक्षा ४ सम्ममा महिनावारी आधारभूतमा ५१ जना छात्राछात्र अध्ययनरत थिए ।

त्यस्तै बालविकास सहित कक्षा १ देखी ३ सम्मका विद्यालयहर सुन्तोली आधारभूतमा २३ जना, पञ्चकन्या आधारभूतमा २३ जना, लक्ष्मी आधारभूतमा ३९ जना छात्राछात्र अध्ययनरत थिए भने सगरमाथा आधारभूतमा बालविकास सहित कक्षा १ र २ मा जम्ममा ३४ जना अध्ययनरत थिए ।

१० वर्ष अघि पनि दुई विद्यालय बन्द

विद्यार्थी नभएपछि १० वर्ष अघि कानेपोखरी–४ स्थित पिङ्डाँडाको प्रगतिशिल प्रावि र वडा नं. ७ स्थित पच्चिस बिघेको २०४५ सालमा स्थापन भएको शान्ति देवी प्रावि पनि बन्द गरिएको थियो ।

१० वर्ष अघि वन्द भएको शान्ति देवी प्रावि र प्रगतिशिल प्रावि

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार यदि कुनै सामुदायिक विद्यालय बन्द भएमा वा अर्को विद्यालयसँग गाभिएमा सम्पत्तिको स्वामित्वः उक्त विद्यालयको नाममा रहेको जग्गा, भवन र फर्निचर लगायतका भौतिक पूर्वाधारहरू सम्बन्धित पालिकाको मातहतमा आउँछन् । स्थानीय तहले उक्त भवनलाई वडा कार्यालय, स्वास्थ्य केन्द्र, सामुदायिक भवन, वा अन्य कुनै सार्वजनिक सेवाको केन्द्र बनाउन सक्नेछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.