२९ वैशाख, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईमा पञ्चायत मा.वि.का स्वीकृती निरौलाले ४.० जिपिए प्राप्त गर्दै नगरमै उत्कृष्ट नतिजा ल्याएका छन् ।
निजी विद्यालयहरुलाई पछि पार्दै पञ्चायत मा.विले उत्कृष्ट नजित ल्याउन सफल भएको हो । त्यस्तै नगरक्षेत्रबाट एसईई परीक्षामा चार निजी विद्यालयले शतप्रतिशत(१००%)नतिजा ल्याएका छन । मोरङ मेरिगोल्ड अंग्रेजी स्कुल, प्याराडाइज बोर्डिङ स्कुल, बाल जागरण विद्या मन्दिर र प्यागोडा मोडल बोर्डिङ स्कुलका सबै विद्यार्थीहरूले शतप्रतिशत नतिजा प्राप्त गरेका हुन् ।
कूल सहभागी विद्यार्थी ११ सय ४८ जना थिए भने ७ सय ५९ जना पास भएका थिए । त्यस्तै ३ सय ८९ जना विद्यार्थी असफल भएका थिए । नगरपालिकामा ६६.११ प्रतिशत विद्यार्थी सफल भएका थिए । नगरका सामुदायिक र संस्थागत गरी कुल २६ विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए ।
सामुदायिक विद्यालयहरू मध्ये अमरसिंह मा.वि. ९७.७३ प्रतिशत नतिजासहित अग्रस्थानमा देखिएको छ । त्यस्तै, जनता मा.वि.ले ७४.६८ प्रतिशत र चन्द्रकिरातेश्वर मा.वि.ले ७१.४३ प्रतिशत नतिजा ल्याएका छन् । विद्यार्थी संख्याको हिसाबले सबैभन्दा धेरै २०७ जना सहभागी भएको पञ्चायत मा.वि. बाट १३० जना (६२.८०%) विद्यार्थी उत्तीर्ण भएका छन् ।
निजी विद्यालयतर्फ ब्राइट सनराइज बोर्डिङ स्कुलले ९६.१५ प्रतिशत, एभरेष्ट बोर्डिङ स्कुलले ९०.३८ प्रतिशत र कञ्चनजङ्घा बोर्डिङ स्कुलले ९०.९१ प्रतिशत नतिजा हासिल गरेका छन् ।



