Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
नगरपालिकाले नगरवासीलाई थप राहतको व्यवस्था मिलाउने - Nigranitimes

नगरपालिकाले नगरवासीलाई थप राहतको व्यवस्था मिलाउने

बैशाख ७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनको समयमा कोही पनि नगरवासी भोकै वस्नुपर्ने अवस्था सिर्जना हुन नदिन आवश्यक राहतको व्यवस्था मिलाउने भएको छ ।

‘कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति’ को आजको बैठकले दैनिक ज्यालामजदुरी गर्नेहरुका लागि राहत वितरण गरिएको र थप राहत आवश्यक पर्दा त्यसको व्यवस्थापन गरी कोही पनि भोकै वस्नुपर्ने अवस्था सिर्जना हुन नदिने निर्णय गरेको हो ।

खाद्यान्नको अभाव भएका परिवारको यकिन पहिचान गरी वडा समितिमार्फत राहत वितरणका लागि राहत व्यवस्थापन तथा वितरण समितिले आवश्यक व्यवस्था मिलाउने निर्णय भएको नगर प्रमुख एवम् ‘कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति’ का संयोजक दिलीपकुमार राईले जनाउनु भयो ।

बैठकले, अत्यावश्यक खाद्यान्न र सागसब्जी पसल अति स्वास्थ्य सावधानीका साथ दैनिक विहान ७ देखि १० बजेसम्म सञ्चालन भएको अवस्थालाई तत्कालका लागि निरन्तरता दिने पनि निर्णय गरेको छ । कोरोना भाइरस विरामीको संख्या बढ्दै गएपछि लकडाउनमा थप कडाई गर्दै नगर बाहिरबाट सागसब्जी र फलफुल भित्रिन नदिने पनि निर्णय गरेको छ ।

यसका साथै थोरै श्रमिकमार्फत सञ्चालन गर्न सकिने नगरका चालु आर्थिक वर्षका योजनाहरु अत्यन्तै स्वास्थ्य सावधानी अपनाउँदै सञ्चालन गर्ने निर्णय गरिएको छ । त्यस्तै, नगरमा रहेका बैंक तथा वित्तिय संस्थाहरु साताको २ दिन विहान ११ देखि २ बजेसम्म अत्यन्तै स्वास्थ्य सावधानी अपनाउँदै सञ्चालन गर्न जानकारी गराउने निर्णय भएको छ ।

यसैबीच, राहत व्यवस्थापन तथा वितरण समितिको आजै बसेको बैठकले भोकै पर्ने अवस्थाका केही छुटपुट भएकाहरुका निम्ति राहत व्यवस्थापनका लागि समन्वय समितिमा माग गर्ने निर्णय गरेको उपप्रमुख एवम् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाए ।

सम्बन्धित खवर