जेठ ७ गते, पथरी । मोरङमा कोरोना भाइरस संक्रमण जोखिम बढेपछि कानेपोखरी गाउँपालिकाले पहिलो पटक तीन दिन बन्द तथा लकडाउन कडाई गर्ने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा मंगलबार विभिन्न राजनितिक दल, व्यापार प्रवन्ध समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरीसंग बसेको बैठकले कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्न विहिबार देखि तीन दिन लकडाउनमा कडाई गर्ने निर्णय गरेको हो ।
बैठकले, विहान ६ देखि विहान १० बजेसम्म सञ्चालन हुँदै आएका विभिन्न खाद्यान्न, सागसब्जी, खाजा सहितका पसलहरु वन्द गर्ने भएको छ । गाउँपालिका क्षेत्रको सिमामा प्रहरीमार्फत आवतजावतमा पूर्णरुपमा बन्द गर्ने समेत निर्णय गरेको छ ।
कसैको खाद्यान्न, सागसब्जी र चिया नास्ता पसलेहरले लकडाउनको अवज्ञा गरेमा दण्ड जरिमाना सहित कारवाही गरिने गाउँपालिकाले जनाएको छ ।
कोरोना भाइरस संक्रमित हुनसक्ने आशंकामा रहेका कुनै व्यक्तिलाई क्वारेन्टिनमा पुर्याउनु अघिको तत्कालिन अवस्थामा सुरक्षित स्थलमा राख्ने व्यवस्था समेत मिलाउन गाउँपालिकाले व्यवस्थापन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।
अध्यक्ष काफ्लेले गाउँपालिका क्षेत्रमा कोरोना भाइरस जोखिम बढ्न नदिन सवै गाउँवासीलाई सजक भएर घरभित्रै बसी तीन दिन बन्द तथा लकडाउनको नियमलाई मानिदिन समेत आग्रह गरेका थिए । तीन दिन पछि अवस्था हेरेर कडाई थप गर्ने अध्यक्ष काफ्लेले बताए ।
बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नेपाल सरकारले दिएको पासको स्विकृतीलाई बाहेक सवारी साधन चलाएमा पक्राउ गरी मुद्दा चलाउन समेत आदेश दिएको छ । उता विकास निर्माणको काम भने सामाजिक दुरी कायम गर्दै संचालन रहने छ ।