साउन २० गते, पथरी । सामाजिक सन्जाल प्रयोग गरेर वडा कार्यलय र जनप्रतिनिधि विरुद्ध भ्रम छरिएको भन्दै वडाध्यक्ष डम्बर चेम्जोङ लिम्बुले नियोजित र गलत प्रचारको पछि नलाग्न वडाबासीलाई आग्रह गरेका छन ।
शरणार्थी सम्बन्धि उच्च आयोग (युएनएचसीआर)ले अनुदानमा दिएको १५० विरुवाको बिषयमा मोरङ पथरीशनिश्चरे–३ नम्बर वडाको गलत प्रचार गरेकोमा त्यसको पछि नलाग्न आग्रह गरेको हो ।
अनुदानको विरुवामा ३ नम्बर वडामा किसानहरु वीच छिना झम्टी भयो ।
वडामा करिव तीन हजार घरपरिवार छन । अनुदानमा आएको १५० बिरुवा सबैलाई नपुगेको भन्दै केहिले सामाजिक सन्जाल र मिडिया प्रयोग गरि वडाध्यक्ष चेम्जोङलाई नै आक्षेप लागेपछि उनले भ्रमित नहुन अनुरोध गरेका हुन ।
सुनसरी इटहरी स्थित राम जानकी नर्सरीबाट बिल भुक्तानी गरेर बिरुवा ल्याएको प्रमाण वडाध्यक्ष डम्बर चेम्जोङ परिवारले देखाए । १५० बिरुवा बितरण गर्ने जिम्मा वडा सदस्य रहेका कृषि संयोजक गिरीराज पोख्रेलले पाए । वितरण गर्ने क्रममा भिडभाड भयो । १३० बिरुवा बाडियो ।
१० वटा मर्न लागेको कमजोर भएकोमा १० जनालाई दुई वटाको दरले बितरण गरेको वडा समितिको कृषि प्रमुख गिरिराज पोख्रेलले बताए । बाँकी १० वटा बिरुवा भिडभाँडमा नामै नलेखाई लगेको उनको भनाई छ । वडाध्यक्ष डम्बर चेम्जोङ र आफूले एउटै बिरुवा नलगेको पोख्रेलले किटानीको साथ बताए ।
बिरुवा नपुगेको भन्दै एउटा हुलले वडा कार्यालय घेराउ समेत गर्न भ्याए । स्पष्टीकरण दिदा पनि अबिस्वास मात्र होइन उल्टै ब्यक्तिगत जीवनमा आँच आउने हिसाबले सोशल मिडिया प्रयोग हुन थालेकोमा वडाध्यक्ष चेम्जोङले दुःख ब्यक्त गरे ।
वडाको बारेमा प्रमाणित नहुने कुरा पटक पटक आउनुको कारण बारे अध्ययन हुने उनले बताए । कागती, लिची र सुपारीको बिरुवा १० वटै वडामा १५० को दरले आएको हो । एउटा विरुवालाई दुईदेखि तीन सय सम्म पर्छ ।अन्य वडामा पनि वितरणमा सानातिना समस्या देखिए । तर, ३ नम्बर वडामा १५० विरुवामै कार्यालय घेराउदेखि जनप्रतिनिधि विरुद्ध प्रचार हुनुमा केही ब्यक्तिको नियत मै खोट रहेको वडाध्यक्ष चेम्जोङको भनाइ छ ।
शरणार्थी सम्बन्धि उच्च आयोग (युएनएचसीआर) भुटानी शरणार्थी सम्बन्धि काम गर्न बसेको थियो । आयोगले शरणार्थी प्रभावित क्षेत्रमा कृषि, स्वास्थ, शिक्षा लगायतमा सहयोग गर्दै आएको छ । भुटानी शरणार्थी पुनरबाँस कार्यक्रम अन्तरगत तेस्रो राष्ट्र गइसक्न लाग्दा सहयोगको दायरा घटाउदै लगेको छ । गत आर्थिक बर्षमा पथरीशनिश्चरेको १० वटै वडामा १५० वटाको दरले कागती, लिची र सुपारीको बिरुवा दिएका थिए ।