भदौ २ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भएको नगरस्तरीय महिला फुटबल प्रतियोगिताको हिसाव सोमबार सार्वजनिक भएको छ ।
तत्कालीन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी पथरी बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको हिसाव सार्वजनिक भएको हो । फुटबल प्रतियोगिताको खेल संयोजक निताकुलुङ राईले पत्रकार भेटघाटको आयोजना गरी हिसाव सार्वजनिक गरेकी हुन ।
फुटबल सफलतापूर्ण ढंगले भएपनि प्रतियोगिता हुँदाको हिसाव तत्काल नजुटेको, दुई संगठन एकीकरणको चरणमा रहेको हुँदा तत्काल सार्वजनिक हुँन नसकेको संयोजक निता राईले बताए । २०७५ पुस १४ देखि १८ सम्म तत्कालीन एमाले र माओवादी पार्टी एकीकरणको चरणमा हुँदा पार्टी संबद्ध दुई वटा संगठन मिलेर महिला फुटबल प्रतियोगिता गराएका थिए ।
क्याम्पसको स्ववियु उपसभापति निता राईलाई खेलकुद कार्यक्रमको संयोजक बनाएर प्रतियोगिता भएको थियो । अनेरास्ववियुको इकाई समिति संयोजक जनक पोख्रेल, सचिव मुकेश राई, अखिल क्रान्तिकारीका प्रकाश चौहान, पार्टी सम्बद्ध युवा मनि लिम्बू लगायतको टोलीले नगरस्तरीय महिला फुटबल प्रतियोगिता गराएका थिए ।
प्रतियोगिता हुँदा पथरीशनिश्चरे नगरबाट ८० हजार, राष्ट्रिय खेलकुद परिषदबाट ७५ हजार, नगरपालिका विभिन्न वडाहरुबाट २५ हजार अन्य सहयोगिहरुबाट ५७ हजार पाँच सय गरेर दुई लाख ३७ हजार पाँच सय संकलन भएको उल्लेख छ ।
खर्चतर्फ नगद र ट्रफी पुरस्कार, टिम फियर, कार्यक्रम सूचना विज्ञापन, ईन्धन, छपाई, टेन्ट साउण्ड सिस्टम, मैदान व्यवस्थापन, जर्सी, न्यु स्टार क्लव सहयोग लगायतको शिर्सकमा २ लाख ८६ हजार खर्च भएको हिसाव सार्वजनिक गरेकी छन । कार्यक्रममा ४८ हजार ५ सय रुपैया घाटामा भएको विवरण प्रस्तुत गरेकी छन ।