भदौ १३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा पछिल्लो पटक ७ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाबाट आज आएको पीसीआर परीक्षणको रिपोर्टमा क्वारेन्टिनमा रहेका ४ जनामा र समुदायका ३ जना युवा अवस्थाका पुरुषमा कोरोना पोजेटिभ देखा परेको हो ।
नगरको क्वारेन्टिनमा रहेका ५ र समुदायका २५ गरी ३० जनाको स्वाब परीक्षणमा त्यस प्रकारको रिपोर्ट देखिएको नगरकाले जनाएको छ । संक्रमण देखिएका सवैलाई गोठगाउँको कोभिड अस्पतालमा लगिने भएको भएको छ ।
संक्रमितको संख्या बढेको अवस्था रहेकाले यसअघि नगरले भदौ १७ गतेसम्मलाई जारी गरेको लकडाउनलाई नगरवासीले पूर्णरुपमा पालना गरी अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगर प्रमुख दिलीपकुमार राईले अनुरोध गरेका छन् । यसअघि ८ जनामा संक्रमण देखिएकोमा सवैजना निको भएर घर फर्किसकेका छन् ।