भदौ ३१ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिका शिक्षा शाखाले शैक्षिक संस्था खोल्ने बारेमा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग परामर्श लिएको छ । शिक्षा शाखाले विद्यालय संचालन गर्ने बारेमा प्रस्तावित कार्ययोजना बनाएर प्रधानाध्यापकहरुसँग परामर्श लिएको हो ।
आज गाउँपाकिलाको हलमा कानेपोखरी क्षेत्रका संस्थागत विद्यालयका प्रिन्सिपलहरुसंग शिक्षा शाखाले शैक्षिक सत्र सुरुगर्ने विधिहरुमा छलफल गरेका थिए । संस्थागत विद्यालयहरुका प्रतिनिधिहरुले एक दिनमा सबै कक्षाहरु हुनु पर्ने माग राखेका थिए । एकदिनमा दुई सिफ्ट गरेर सबै कक्षा संचालन गर्न पाउनु पर्ने माग राखेका शिक्षा शाखाका विद्यालय निरिक्षक बेग बहादुर काफ्लेले बताए ।
उता मंगलबार कानेपोखरी क्षेत्र भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको भेला गरेर परामर्श गरेका थिए । परामर्श कार्यक्रममा सबै प्रधानाध्यापकहरुले विद्यालय संचालन गर्नुपर्ने माग राखेका थिए । शिक्षा शाखाले प्रस्ता गरेको विद्यालय संचालन प्रस्तावित कार्ययोजनामा समर्थन जनाएका थिए ।
शिक्षा शाखाको प्रस्तावित कार्ययोजनामा आइतबार र बुधबार कक्षा ३,६ र ९ विहान १० बजेदेखि १ बजे सम्म । त्यसैगरी सोमबार र विहिबार कक्षा ४, ७ र १० विहान १० बजे देखि १ बजे सम्म । मंगलबार र शुक्रबार कक्षा ५, ८, ११ र १२ विहान १० बजेदेखि १ बजे सम्म रहेको छ ।
स्कुल खोल्ने बारेमा गाउँपालिकामा स्थापना भएको विपत व्यवस्थापन समितिलसँग छलफल गरेपछि मात्र विद्यालय संचालन गर्ने सूचना आउने शिक्षा शाखाका विद्यालय निरिक्षक काफ्लेले बताए । विपत व्यवस्थापनमा समितिमा विभिन्न राजनितिक दलका प्रतिनिधि, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र कार्यपालिका सदस्यहरु रहेका छन् । कोरोना भाइरसको कारण संस्थागत र सामुदायिकका लगभग १० हजार विद्याथी पढ्नबाट बन्चित भएका थिए । कानेपोखरी गाउँपालिकामा सरकारी २३ वटा र संस्थागत २० वटा विद्यालयहरु छन् ।
विश्वव्यापी कोरोना महामारी फैलिएसंगै नेपाल सरकारले कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न गरेको लकडाउन(बन्दावन्दी) लगभग ५ महिना पछि खुलेको छ । क्रमश लकडाउन खुले संगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका–२०७७ जारी गरेको थियो । मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका जारी गरेपछि कोरोना प्रभावित नभएको स्थानीय तहमा सावधानी अपनाएर कक्षा संचालन गर्ने अधिकार स्थानीयतहलाई दिएको छ ।