कात्र्तिक १३ गते, कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) कानेपोखरी गाउँ कमिटीको अध्यक्षमा सुशिल बुढाथोकी सर्वसहमत चयन भएका छन् ।
निर्वाचन समितिमा सर्वसहमत नाम आएकोले निर्वाचन समितिका संयोजक दामोदर सिग्देलले शनिबार एक कार्यक्रम विच नाम घोषणा गरेको हो । त्यसैगरी उपाध्यक्षमा यशोदा लिम्बु, सचिव चरण गुरुङ, उपसचिवमा कृष्ण थामी र वीर वहादुर कार्की चयन भएका छन् ।
उपाध्यक्षमा यशोदा लिम्बु र सचिव चरण गुरुङ यस अघि नै सर्वसहमत भएका थिए । बाँकी अध्यक्ष र उपसचिव पदमात्र शनिबार सम्म समय लिएर सहजीकरण समितिले नाम सर्वसहमत गरेको निर्वाचन समितिका संयोजक दामोदर सिग्देलले बताए ।
भुगोल र जातजाती मिलाउँदै वडा नं. २ बाट अध्यक्ष, वडा नं. ६ बाट उपाध्यक्ष, वडा नं. ५ बाट सचिव, वडा नं. ७ बाट उपसचिव र वडा नं. १ बाट उपसचिव पदमा नाम ल्याएका थिए । निर्वाचन समितिले शनिबार निर्वाचन तोके पनि हिजो शुक्रबार निर्वाचन नगर्ने सहमतीमै जाने निर्वाचन समितिले सूचना गरेको थियो ।
निर्वाचन समितिका संयोजक दामोदर सिग्देलले नवनिर्वार्चित अध्यक्ष सुशिल बुढाथोकीलाई पद तथा गोपिनियताको सपथ गराएका थिए । अन्य सदस्यहरुलाई आगामी १७ गते पहिलो बैठकमा पद तथा गोपिनियताको सपथ गराउने अध्यक्ष बुढाथोकीले बताए ।
कानेपोखरी गाउंपालिकाका लागि केन्द्रीय सदस्य गंगा डागी, तारा काफ्ले, भेषनाथ रिजाल, राजकुमारी इङ्नाम, इन्द्र सुब्बा, योगेन्द्र बस्नेत र भोला अधिकारीलाई सहजिकरण सहित भव्यता पूर्वक अधिवेशन सम्पन्न गर्न गराउन जिम्मेवारी तोकेको थियो ।
अध्यक्षपदमा निर्वतमान संयोजक दानबहादुर बस्नेत र निर्वतमान सहसंयोजक सुशिल बुढाथोकी, भूपाल श्रेष्ठ र खडानन्द घिमिरेले उमेद्वारी दिएका थिए । त्यसैगरी उपाध्यक्षमा खेमकुमारी दाहाल, यशोदा लिम्बु, चन्द्र खड्का र भिम बस्नेतले उमेद्वारी दिएका थिए ।
त्यसैगरी सचिव पदमा चरण गुरुङ, मोहन प्रसाद अधिकारी, अर्जुन मगर, खड्ग बस्नेत र हेमचन्द्र भण्डारीले उमेद्वारी दिएका छन् । त्यसैगरी उपसचिवमा अशोक फुयल, याम प्रसाद पौडेल, देवीन समाल आले, गोपाल भट्टाई, अनिल कार्की, वीर वहादुर कार्की, डम्बर बहादर कटुवाल, टंक प्रसाद घिमिरे, कृष्ण थामी र हरि न्यौपानेले उमेद्वारी दिएका छन् ।
गाउँ कमिटी सदस्य पदमा अघिवेशनकै दिन सवै वडाबाट टुङ्गो लागेको थियो । वडा नं. १ बाट ८ जना, २ बाट १२ जना, ३ बाट ७ जना, ४ बाट १२ जना, ५ बाट ९ जना, ६ बाट १३ जना र ७ बाट ९ जना सर्वसहमत चयन भएको थियो ।
गत ६ गते वडा अधिवेशनबाट प्रतिनिधि छनौट चयन गरिएको थियो । वडाबाट गाउँकमिटीमा सदस्यरहने सवै, वडामा निर्वाचित ३१ जना र संगठित सदस्यको आधारमा वडा अधिवेशन हलबाट छनौट भएको प्रतिनिधि गाउँ कमिटीको उमेद्वारलाई मत दिने र उमेद्वार बन्ने अधिकार रहने विद्यानमा छ । गाउँपालिकाको ७ वटा वडाबाट ५१४ जना प्रतिनिधि रहेको छ ।